खेलौनाको रुपैयाँ लिन बोलाएर महिलामाथि  प्रलादले गरे दुर्व्यवहार

न्यूज डेस्क     २०८० कार्तिक १४, मंगलवार ०६:४८ बजे मा प्रकासित


जनकपुरधाम । धनुषाको कमला नगरपालिका- ४ की एक जनप्रतिनिधिका श्रीमानले महिलामाथि दुर्व्यवहार तथा कुटपिट गरेका छन् ।

पीडित महिलाले वडा सदस्यकी श्रीमान प्रलाद सल्हैता यादवले दशैँको पहिलो दिन घटस्थपनाको दिन मेलामा खेलौना बेच्न गइरहेको बेला उनले किनेको खेलौनाको पैसा लिन आफूलाई बोलाएर दुर्व्यवहार तथा कुटपिट गरेको भन्दै वडा कार्यालयमा उजुरी दिएकी छन् ।

महिलाले निवेदन दिएपछि वडाध्यक्ष दीपक गोहिबारले उनलाई छलफल गराइदिने आश्वासन दिएका छन् । तर, वडा अध्यक्षबाट आफ्नो माग सुनुवाइ नभएपछि पीडित महिला समाजका अगुवाहरुसमक्ष न्याय माग्दै हिँडेपछि घटना बाहिरिएको हो ।

आर्थिक अवस्था कमजोर भएकाले ती महिलाले दसैँ मेलामा खेलौनाको पसल गरेकी थिइन् । उनको पसलबाट असोज २८ गते घटस्थपनाको दिन प्रलादले ५० रुपैयाँको खेलौना किनेका थिए ।खेलौनाको पैसा तत्कालै प्रलादले तिर्नुभएन प्रलादले भनेका थिए, ‘खेलौनाको रुपैयाँ घरमै आएर लिनू ।’

दशैँको मेला सम्पन्न भएपछि कार्तिक १० गते महिलाले खेलौनाको रुपैयाँ लिन छोरालाई प्रलादको किराना पसल बरेर्वामै रहेकोले सो पसलमा पठाएकी थिइन् । तर, प्रलादले ‘तिमी आफ्नी आमालाई नै पठाउ, अनि रुपैयाँ दिन्छु’ भनेर छोरालाई फर्काएका थिए । त्यसपछि महिला आफै उनको पसलमा पैसा माग्न जाँदा प्रलादले दुर्व्यवहार तथा कुटपिट गरेको ती महिलाले बताइन् ।

‘पैसा माग्न छोरालाई पठाएपछि आमालाई पठाइदिनू भनेर फर्काइदियो । म गएपछि प्रलादले ‘तिमी अरु पुरुषसँग सम्बन्ध बनाएको छौ’ भन्दै जथाभावी बोल्न थाले’, उनले भनिन्, ‘त्यस्तो नभन्नु भनेपछि मलाई एक्कासि कुट्न थाल्यो ।’

श्रीमान घरमा नभएकै कारण आफ्नो चरित्रमाथि दाग लगाउने प्रयास गरेको र कुटपिटसमेत गरेकाले न्यायका लागि वडा कार्यालयमा उजुरी दिएको पीडित महिलाले जानकारी दिइन् । उनका श्रीमान भारतमा मजदुरी गर्छन् ।

घटना सार्वजनिक भएपछि वडाध्यक्ष गोहिबारले घटना मिलापत्र गराउने प्रयास गरेका छन् । उनले पीडित महिलाले उजुरी दिएको र सो विषयमा छलफल गर्न आरोपित प्रलादसँग सम्पर्क गर्ने प्रयास गरिरहेको बताए ।

वडाध्यक्ष गोहिबारले भने, ‘मैले बुझेअनुसार खेलौनाको रुपैयाँ माग्न छोरालाई पठाएपछि प्रलादले आमालाई पठाइदिनु भनेको सत्य हो । त्यसपछि महिला गएपछि प्रलादले कुटपिट गरेको कुरा आएको छ । किन कुटपिट गर्‍यो भन्ने कुरा थाहा भएन ।’

वडाध्यक्ष गोबिहार नेपाली कांग्रेसबाट जितेका हुन् । आरोपित प्रलादकी श्रीमती संजु देवी सल्हैताले पनि कांग्रेसबाटै जितेकाले घटना ढाकछोपको प्रयास भइरहेको स्थानीयले बताउँछन् । महिलामाथि अन्याय गरिएकाले प्रलादमाथि कडा कारबाही हुनुपर्ने उनीहरुको माग छ ।

प्रतिक्रिया





Top