जनकपुरधाम । सर्लाहीमा मधेश प्रदेश सरकारको उर्जा, सिँचाइ तथा खानेपानी राज्यमन्त्री शेख अवुल कलाम आजाद (फुलबाबू) को गाडीको ठक्करबाट मोटरसाइकलमा सवार ३ जना गम्भीर घाइते भएका छन् भने एकको अवस्था चिन्ताजनक रहेको छ ।
जिल्लाको बरहथवा नगरपालिका-९ मुक्तेश्वर चौकस्थित मंगलबार साँझ बरहथवाबाट नयाँरोडतर्फ जाँदै गरेको मधेश प्रदेश ०२ ००१ झ ०२४० सरकारी नम्बर प्लेटको जिप (स्कोरपिओ) र विपरीत दिशाबाट आउँदै गरेको बा ४३ प १२६३ नम्बरको मोटरसाइकल एकापसमा ठोकिँदा मोटरसाइकलमा सवार बरहथवा नगरपालिका-५ का १८ वर्षीय सुमन महतो, चन्द्रनगर गाउँपालिका-५ का १८ वर्षीय दिपक महतो र बागमती नगरपालिका-१० शंकरपुरका १९ वर्षीय अजय महतो गम्भीर घाइते भएका छन् ।
घाइते तीन जनामध्ये दिपकको टाउकोमा भारी चोट लागेकोले उनको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपेन्द्र पञ्जियार थारुले जानकारी दिए । उनका अनुसार घाइते तीनै जनाको उपचार वीरगञ्जको एलएस न्युरो हस्पिटलमा भइरहेको छ । सरकारी गाडीमा सवार सबै जना दुर्घटनामा स्थलबाट फरार भएका छन् ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार सरकारी गाडीमा सवारहरुले मदिरा पिएर लठ्ठीएका कारण विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिएपछि मोटरसाइकलमा सवार तीनै जना करिब १० फिट माथि उडेका थिए । राज्यमन्त्रीको सरकारी नम्बर प्लेटको गाडीले ठक्कर दिएपछि घाइते भएकाहरुलाई उद्धार गर्नुको साटो गाडी छोडेर भागेपछि आक्रोशमा आएर स्थानीयले गाडी तोडफोड गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।source :Madhyanha








प्रतिक्रिया