आलमले इँटाभट्टीमा जिउँदै मारे, मुद्दा १६ पटक पेशी, अदालतमा बहस

न्यूज डेस्क     २०८० कार्तिक २२, बुधबार २२:३५ बजे मा प्रकासित


रौतहट । इँटाभट्टीमा जिउँदै हालेर मान्छेलाई जलाएको आरोपमा पुर्पक्षको लागि कारागारमा रहेका रौतहटका मोहमद अफताब आलमको मुद्दामा बुधबार बहस हुँदैछ।

जिल्ला अदालत, रौतहटमा आलमसहित पाँचजना विरुद्ध परेको मुद्दामा सुनुवाइ हुन लागेकाे हाे।

आलम विरुद्ध परेको विष्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धीको कसूरको मुद्दामा मंगलबार सरकारी वकिलको बहस सकिएको थियो ।

प्रतिबादीको तर्फबाट पनि केही वकिलहरूले बहस गरेको भएपनि बुधबार पनि उनीहरूले बहस गर्नेछन्।

प्रतिवादीको तर्फबाट वकिलहरूको बहस सकिएपछि बिहीबार उक्त मुद्दाकाे फैसला हुने अनुमान गरिएको छ। जिल्ला अदालतको इजलाश नम्बर २ का न्यायाधीश बाबुकाजी बानियाँको इजलाशमा आलम बिरुद्धको मुद्दा परेको छ।

२०६४ सालको पहिलो संविधानसभाको निर्वाचनको एक दिनअघि चैत २७ गते शेख इद्रिसको घरमा बम विस्फोट हुँदा यमुनामाई गाउँपालिका ४ सरुअठाका २४ वर्षीय त्रिलोक प्रताप सिंह र २२ वर्षीय ओसी अख्तरको मृत्यु भएको थियो।

विस्फोटमा परी घाइते भएकाहरूलाई जिउँदै इटाभट्टीमा जलाइएको आरोप लगाउँदै त्रिलोकका बुवा श्रीनारायण सिंह राजपुतले आलमसहितलाई प्रतिवादी बनाएर ०७६ साल कार्तिक १८ गते जिल्ला अदालतमा विष्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धीको कसूरमा मुद्दा दर्ता गराएका थिए।

जिल्ला अदालत, रौतहटका अनुसार हालसम्म उक्त मुद्दा १६ पटक पेशी चढेको छ।

प्रतिक्रिया





Top