जनकपुरधाम । अवैध रूपमा चोरी निकासी गरिएका एक लाख मूल्यभन्दा बढीको प्रतिबन्धित पटाका सशस्त्र प्रहरी धनुषाले नियन्त्रणमा लिई नष्ट गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण हेडक्वाटर धनुषाले जनकपुरधामबाट बरामद गरिएका एक लाखभन्दा बढी मूल्य बराबरको प्रतिबन्धित अवैध पटाका शुक्रबार दिउँसो नष्ट पारिएको हो । स्थानीय जनप्रतिनिधि र नेपाल प्रहरीको रोहवरमा जनकपुरधामस्थित सशस्त्र प्रहरीको कार्यालयमै खाल्डो खनी उक्त पटाका नष्ट पारिएको जनाइएको छ ।
मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिका ४ स्थित माछा बजारबाट सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण हेडक्वाटर धनुषाका सहायक प्रहरी निरीक्षक प्रकाश धितालको कमाण्डमा खटिएको प्रहरी टोलीले बरामद गरेको एक लाख ३ हजार मूल्य बराबरको पटाका नियन्त्रणमा लिएको थियो ।
सशस्त्र प्रहरीको मोबाइल टोलीलाई देखेर भारतबाट अवैध रूपमा भन्सार छली गरेर टाउकोमा बोकी नेपालतर्फ ल्याउँदै गरेको ३ वटा बोरामा विभिन्न किसिमका प्रतिबन्धित पटाकाहरू सोही स्थानमा छाडी फरार भएका कारण पटाका मात्र नियन्त्रणमा लिइयो र व्यक्ति भाग्न सफल भएको सशस्त्र प्रहरीका प्रवक्ता डिएसपी यदु कार्कीले जनाएका छन् ।








प्रतिक्रिया