७ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने चौधरीलाई जन्मकैद

न्यूज डेस्क     २०८० पुष १०, मंगलवार ०८:०३ बजे मा प्रकासित


बारा । जिल्ला अदालत बाराले ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ।

बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नं ७ स्थित काठ तथा फर्निचर मिलमा कार्यरत भुवन चौधरी भन्ने हेमन चौधरीले ७ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उनलाई जन्म कैदको फैसला सुनाएको हो ।

जिल्ला अदालत बाराका न्यायाधीश प्रकाश राउतको आईतबारको एकल इजलासले जन्मकैदको फैसला सुनाएको हो ।

उक्त घटनाका पीडित बालिकाको तर्फबाट जिल्ला न्यायाधिवक्ता लोकराज पोखरेल र प्रतिवादी चौधरीको तर्फबाट नागेन्द्र राउतले बहस गरेका हु ।

घटनास्थलको मुचुल्का,घटनाको विवरण कागज तथा पीडित बालिकाको स्वास्थ्य परीक्षण प्रतिवेदन तथा चिकित्सकले अदालतमा गरेको बकपत्र,मौकामा बुझिएका मानिसहरूको भनाइलाई प्रमाणहरुलाई आधार बनाएर जिल्ला अदालत बाराले प्रतिवादी उपरको किटानी जाहेरी रूपमा लिएर फैसला सुनाएको फैसलामा उल्लेख छ ।

प्रतिवादी चौधरी र पीडित बालिकाका बुवा लामो समयदेखि जीतपुर सिमरा वडा नं ७ स्थित फर्निचर उद्योगमा सँगै काम गर्दै आएका साथी हुन् । गत

२०७९ असोज ८ गते पीडित बालिकाका अभिभावक काम विशेषले हेटौडा गएको अवस्थामा काठ मिलमा सँगै काम गर्ने भुवन चौधरीको घरमा उनीहरूले छोराछोरी छाडेका थिए ।

चौधरीको पनि साना छोराछोरी भएकाले दिनभर उनीहरूसँगै खेल्ने गरेकोले पीडित बालिकाका अभिभावकले विश्वासको भरमा उनलाई त्यसदिन भुवन चौधरीको घरमा छाडेका थिए ।

तर सोही दिन चौधरीले राती करिब १० बजेको समयमा बालिकालाई सुतिरहेको ठाउँबाट उठाएर अन्यत्र लगेर जबरजस्ती करणी गरेका थिए । घटना पश्चात् बालिका रोई कराइ गरेपछि चौधरीले सुरुमा पैसा दिन्छु भन्दै फकाएको र नमानेपछि घटनाबारे कसैलाई भने मार्ने धम्की दिएका थिए ।

गत असोज ८ गते राति भएको घटनामा पीडित बालिकाको अभिभावक भोलिपल्ट घर फर्किएपछि छोरीले पेट र पिसाब फेर्ने ठाउँ दुखेको छ भन्दा के भयो भनी सोध्दा पीडित बालिकाले घटनाबारे सबै कुरा अभिभावकलाई बताएकी थिइन् ।

उक्त घटनाका पिडित बालिकाको डा. सुरज कुमार चौरसियाले शारीरिक परीक्षण गरेका थिए । डा. चौरसियाको बयानमा पीडित बालिकाको बुवाको साथी एउटै मिलमा काम गर्ने भएकोले हेरविचारको लागि डेरा कोठामा छाडी जाने गरेका थिए।

घटना भएको दिन चौधरीले बालिका सुतिरहेको अवस्थामा अर्को कोठामा लगेर जबरजस्ती करणी गरेको घटनापछि पीडित बालिका बोल्न नसक्ने अवस्थामा भएकाले घटनाबारे बहिनीले बयान दिएको डा.चौरसियाले भनेका छन ।

छोरी उपर यस्तो कुकर्म गर्ने उपर पीडित बालिकाका अभिभावकले मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को ३ (क) बमोजिम सजायको माग गर्दै बारा जिल्ला अदालतमा अभियोगपत्र दर्ता गराएका थिए ।

सो मुद्दामा बारा जिल्ला अदालतले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (३) (क) बमोजिम प्रतिवादी चौधरीलाई जन्मकैदको सजाय हुने तथा दफा (३) (क) बमोजिम सात लाख रुपैयाँ जरिवाना हुने ठहर गरेको छ । साथै जरिवाना बापतको रकम पीडित राहत कोषमा जम्मा गरी कोषमार्फत बालिकालाई भराइदिन निर्देशन समेत दिएको छ ।

गत वर्ष असोज ८ गते भएको सो घटनामा बारा जिल्ला अदालतले ३ महिनाअघि फैसला प्रमाणीकरण गरेर केही दिनअघि पूर्ण पाठ सार्वजनिक गरेको हो ।

जिल्ला सरकारी वकिल कार्यालय जिल्ला न्यायाधिवक्ता कैलाश क्षेत्रीले १० वर्षमुनिका बालिकाहरू माथि हुने जबरजस्ती करणीका घटनामा जन्मकैदको सजाय हुने कानुनी व्यवस्थालाई सार्वजनिक रूपमा प्रचार प्रसार गर्न सके बालिकामाथि हुने जबरजस्ती करणीका घटनामा कमी आउने सक्ने बताए ।

प्रतिक्रिया





Top