जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सर्लाहीको बरहथवामा मधेस प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा भ्रष्टाचार गर्ने लोभमा देखाएको राजनीतिक उग्रताको कारण एक चिकित्सक युवाको हत्या गरेको अरोप लगाएका छन् । साथै उनले प्रशासनको भूमिकामाथि पनि प्रश्न गर्दै सत्तापक्षको ठेकेदार हुने छुट नभएको उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘सर्लाहीको बरहथवामा मधेस प्रदेश सरकारको सत्तापक्षले स्वास्थ्य क्षेत्रमा भ्रष्टाचार गर्ने लोभमा देखाएको राजनीतिक उग्रताको कारण एक चिकित्सक युवाको हत्या गर्यो। प्रशासनले समाजमा एक सन्तुलित सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्छ, सत्तापक्षको ठेकेदार हुने छुट छैन।’
सर्लाहीको बरहथवा–६ को प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति विषयमा भएको प्रदर्शनका क्रममा स्थानीय युवा जयशंकर साहको मृत्यु भएको थियो । प्रदर्शन नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले शुक्रबार बेलुका साढे ५ बजेदेखि आज बिहान ८ बजेसम्मको लागि कफ्र्यु जारी गरेको थियो । कफ्र्युको समय सकिएपनि आज बिहान ८ बजेदेखि भोलि बिहान ८ बजेसम्मको लागि निषेधाज्ञा भने जारी रहेको प्रशासन कार्यालयले जनाएको छ ।
साथै शुक्रबार प्रदर्शनका क्रममा मारिएका स्थानीय युवा जयशंकर साह आन्दोलनकारी नभएको पनि प्रमाणित भएको छ । साहको शव अहिलेसम्म उठेको छैन । साहको शव सडकमै राखेर स्थानीयले प्रदर्शन जारी राखेका छन् ।
सर्लाहीका प्रहरी प्रमुख एसपी प्रविण धितालले मृतक युवा आन्दोलनकारी नभएको बताएका हुन् । उनि होटल तथा कुखुरा दानाको होलसेल विक्रेता हुन् । आन्दोलनकारीले हतियार खोस्न खोज्दा चलेको गोली साहलाई लागेको पाइएपनि थप अनुसन्धान जारी रहेको प्रहरीको दाबी छ ।








प्रतिक्रिया