वीरगन्ज भन्सारमा कर्मचारीले छाड्ने, सशस्त्रले समाउने राजश्वलाई बुझाउने

न्यूज डेस्क     २०८० माघ ८, सोमबार ०६:४० बजे मा प्रकासित


काठमाडौं । वीरगञ्ज भन्सार हुँदै नेपाल आएको सामान सशस्त्र प्रहरीले बरामद गर्दा तस्करीको भेटिने भन्सारका कर्मचारीले बैधानिकता दिने क्रम बढ्दो रहेको छ । भन्सार कार्यालयमा कार्यालयकै कर्मचारीहरूले आँखा चिम्लिएका कारण तस्करीका सामान नेपाल भित्रिएको हो ।

वीरगञ्ज भन्सार कार्यालयका केही भन्सार अधिकारीहरूको योजनामा राजस्व चुहावट तथा भन्सार छली भइरहेको विषयमा सशस्त्र प्रहरीले चेकजाँच गर्दा त्यसको पुष्टि भएको हो । वीरगञ्ज भन्सार कार्यालय एकीकृत जाँच चौकी (आइसीपी) परिसरबाटै तस्करी हुन थालेपछि राजस्व संकलनको अनुपात समेत घट्ने क्रममा रहेको स्रोतले जनाकारी दिएपछि गत मंसिर १० मा सशस्त्र प्रहरीले भन्सारबाटै आएको सामानलाई राजश्व अनुसन्धान विभागमा पठाइदिएको थियो । तर यो विषय अहिलेसम्म बाहिर आएको थिएन । स्रोतका अनुसार तस्करहरूले भन्सार कर्मचारीहरूकै मिलेमतोमा सुरक्षित तस्करी लाईन संचालनका लागि आइसीपी परिसरलाई प्रयोग गरिरहेको थिए ।

वीरगञ्ज भंसार कार्यालय (आइसीपी) परिसरलाई प्रयोग गर्दा तस्करहरूको जस्तोसुकै मालसामान भएपनि कर्मचारीहरूले ग्रीन च्यानलमार्फत जाँचपास गरी न्यून राजश्वमा करोडौं मूल्यका कपडा, महँगा मदिरा, फेन्सी सामग्रीलगायतका सामान सहजै नेपाल भित्रिने गरेको सशस्त्र प्रहरीले सामान बरामद भएपछि पुष्टि भएको स्रोतले जनाएको छ । गत मंसिर १० गते आइसीपीबाट जाँचपास भई निस्केको १८ पोका कपडा, ४७ पोका फैन्सी सामग्रीहरू बोकेको ना.३ख ५३८५ नम्बरको ट्रक सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित गुल्म अलौंले नियन्त्रणमा लिएर राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएपछि यसलाई गुपचुपमै मिलाउन खोजिएको थियो ।

उक्त ट्रकमा रहेका माल सामानको जाँचपास गरि जारी गरेको प्रज्ञापन पत्रमा एक भारतीय सवारीको नम्बर समेत उल्लेख रहेको फेला परेपछि राजश्व कार्यालयलाई बुझाएको थियो । भन्सारबाट नेपाल आएको ट्रक सशस्त्रले नियन्त्रणमा लिएको थियो । नेपाली नम्बर ना.३ख ५३८५ नम्बरको ट्रकबाट लाखौं मूल्य बराबरको अतिरिक्त कपडा र फैन्सी सामग्री समेत फेला परेको थियो ।

स्रोतका अनुसार कर्मचारीले भन्सार एजेन्ट, विभिन्न ट्रान्सपोर्ट कम्पनी तथा व्यापारीहरूको सेटिङमा काम गर्ने गरेका छन् । भन्सारकै एक कर्मचारीका अनुसार दैनिक रूपमा भन्सारकै कर्मचारीहरूलाई भन्सारका प्रमुख डिलाराम पन्थीले नै अवैध काम गर्न उक्साउने गरेका छन् । वीरगन्जको सुख्खा बन्दरगाहामा भारत हुँदै आएको कन्टेनरमा ठुलो मात्रामा विदेशी चुरोट बरामद समेत भेटिएको छ ।

दाल भनि जाँचपास गराउन खोजेको कन्टेनरमा ५८ लाख भन्दा धेरै गुडाङ गरम र मोन्ड भेरियन्स ब्रान्डको चुरोट फेला परेको थियो । गुडाङ गरम नामको विदेशी तस्करी गरिएको चुरोट अहिले पनि बजार मा छ्यापछ्यापी पाइने भए पनि यसरि भन्सारमा तस्करी हुँदै गर्दा पकडमा आएको भने पहिलो घटना हो । यसलाई पनि गोप्य रुपमा ढाकछोप गरिएको छ ।

प्रतिक्रिया





Top