माधव नेपाललाई एक वर्ष प्रधानमन्त्री बनाउने लिखित सहमति

न्यूज डेस्क     २०८० फाल्गुन २९, मंगलवार २१:४४ बजे मा प्रकासित


काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई एक वर्ष प्रधानमन्त्री बनाउनुपर्ने माग सत्ता गठबन्धनमा गरेका छन्।

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिनु एक दिनअघि मंगलबार प्रधानमन्त्री निवास पुगेर नेपालले प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसामु आफूलाई पनि एक वर्ष प्रधानमन्त्री बनाउनुपर्ने माग गरेका हुन्।उनले प्रचण्ड र ओलीसामु आफूलाई प्रधानमन्त्री बनाउने विषयमा लिखित सहमति नै गर्नुपर्ने बताएका छन्। यसअघि कांग्रेससँगको गठबन्धनमा प्रचण्ड पछि एक वर्ष नेपाल प्रधानमन्त्री हुने सहमति थियो।

त्यो सहमति अनुसार नेपाल १ वर्षपछि प्रधानमन्त्री हुने आशमा रहेकामा प्रचण्डले फागुन २१ गते एकाएक सत्ता समीकरण फेरेका थिए। सत्ता समीकरण फेर्दा आफूलाई जानकारी नदिइएकामा नेपाल प्रचण्ड र ओलीप्रति सशंकित छन्। त्यहीकारण उनले लिखित सहमति खोजेका हुन्।

नेकपा एकीकृत समाजवादी भने यसअघि नै सरकारमा सहभागी भइसकेको छ। एकीकृत समाजवादीका तर्फबाट भानुभक्त जोशी संघीय मामिला तथा सामान्य प्रशासन र धनबहादुर बुढा सहरी विकासमन्त्री छन् ।

पार्टी सरकारमा सहभागी भए पनि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुअघि आफ्ना लागि लिखित सहमति गर्नुपर्ने नेपालको माग छ। प्रचण्डले प्रतिनिधि सभाको बुधबारको बैठकमा विश्वासको मत लिने तालिका छ ।

प्रचण्डका लागि बहुमतमा दायाँबायाँ हुन नदिन एकीकृत समाजवादीको साथ चाहिन्छ। एकीकृत समाजवादी बिच्किएको खण्डमा सत्तामा रहेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बार्गेनिङ गर्न सक्छन्। यो कुरा बुझेरै प्रचण्ड र ओलीले नेपाललाई फकाउन छोडेका छैनन्।
प्रचण्ड र ओलीले नेपालको निवासमै गएर कुरा गरेपछि एकीकृत समाजवादी फागुन २३ गते सत्ता गठबन्धनमा सामेल भएको थियो। नेपालले ‘पावर सेयरिङ’मा लिखित सहमति हुनुपर्ने माग गरेका छन्। उनले राष्ट्रिय सभाको उपाध्यक्ष पनि उकीकृत समाजवादीले पाउनुपर्ने बताएका छन् ।

त्यही कारण यसअघि एमालेले पाउने सहमति भएको राष्ट्रिय सभा उपाध्यक्षको पदबारे मंगलबारको ७ बुँदे सहमतिमा केही उल्लेख छैन। ‘उपाध्यक्ष र अरु पावर सेयरिङको विषय अहिले छलफलमा छ,’ एकीकृत समाजवादीका सचिव जीवनराम श्रेष्ठले भने।
आफूलाई एक वर्ष प्रधानमन्त्री बनाउन लिखित सहमति गर्नुपर्ने र राष्ट्रिय सभा उपाध्यक्ष एकीकृत समाजवादीलाई दिनुपर्ने नेपालको मागमा प्रचण्ड र ओलीले नाइनास्ती गरेका छैनन्। ‘अहिले सबै विषयमा छलफल चलिरहेको छ। उपाध्यक्षका लागि समय पनि छ,’ ओली निकट एक नेताले भने ।

एकीकृत समाजवादीले प्रदेश सरकारको नेतृत्वमा समेत भाग खोजेको छ। ‘यो अहिले सबै अण्डर कन्सट्रक्सनको विषय हो। यसमा सहमति हुने/नहुने निश्चित भइसकेको छैन। सायद प्याकेजमै सहमति हुन्छ कि। माधव नेपालले प्रधानमन्त्री पाउनुपर्छ भनेर दाबी गर्नुभएको छ,’ एकीकृत समाजवादीको सचिवालयका एक सदस्यले भने।

प्रतिक्रिया





Top