झापा । झापाको भद्रपुरबाट लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका-१२ कवाजित निवासी २४ वर्षीय सुदिप बिक र सुनसरी जिल्ला रामधुनी नगरपालिका-३ सिंघिया निवासी २७ वर्षीय हिरालाल बिक रहेका छन् ।
सशस्त्रले उनीहरूको साथबाट प्लास्टिकसहित ३०१ ग्राम ब्राउन सुगर बरामद गरेको छ।सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुर मातहत रहेको बिओपी महेशपुरको टोलीले शुक्रबार साँझ ६ बजेको समयमा भारतबाट बा ९० प १६७५ नम्बरको स्कुटर चढेर नेपाल आउँदै गरेका उनीहरूलाई भद्रपुर ३ मेचिपारिस्थित झोलुङ्गे पुलमा शंका लागेर चेकजाँच गरेका थिए ।
सशस्त्रले उनीहरूको शरीर खानतलासीसँगै स्कुटर पनि चेकजाँच गरेका थिए। स्कुटरको ब्याट्री रहने बक्सभित्र लुकाइछपाई राखिएको तीन वटा पोकामा २९८ ग्राम र एउटा पोकामा ३ ग्राम ब्राउन सुगर फेला परेको हो।उनीहरूले ब्राउन सुगर भारतीय सीमावर्ती बजारबाट खरिद गरी ल्याएको र काठमाडौं पठाउन खोजेका थिए। सशस्त्रले बरामद गरेको ब्राउन सुगरको नेपाली बजार मूल्य ३५ देखि ४० लाख हुने अनुमान गरिएको छ ।
सशस्त्रले दुवै जनालाई ब्राउन सुगर, नगद १६ हजार ४१० रुपैयाँ, दुई थान मोबाइल र स्कुटरसहित आवश्यक कारबाही लागि वडा प्रहरी कार्यालय भद्रपुर बुझाइसकेको छ।








प्रतिक्रिया