बजारमा चुरोटको नाममा नक्कली चुरोट खुलेआम बिक्री खुलासा, सरकारले मासिक करोडौं राजस्व गुमाउँदै

न्यूज डेस्क     २०८१ फाल्गुन २२, बिहीबार ०७:०६ बजे मा प्रकासित


जनकपुरधाम । नेपालमा उत्पादन हुने ब्रान्डेड चुरोटको नाममा बाहिरी मुलुकबाट अवैध रूपमा भित्रिएको नक्कली चुरोट खुलेआम बिक्री-वितरण भइरहेको खुलासा भएको छ।
यसबाट सरकारले मासिक करिब १ करोड रुपैयाँ राजस्व गुमाइरहेको तथ्य बाहिर आएको छ ।

बजार अनुगमनका क्रममा धनुषाको बोहरबा, धनुषाधाम ,तारापट्टी, सबैला, रघुनाथपुर, खजुरी, भररिया, मुसर्निया, फुलगम्मा, लगायतका विभिन्न क्षेत्र स्थानहरूमा नक्कली चुरोट बिक्री भइरहेको पुष्टि भएको छ। स्रोतका अनुसार यो अवैध धन्दा खुलेआम महोत्तरी,सर्लाही,सिरहा लगायतका जिल्लाम चलिरहेको छ ।

 

डिस्ट्रिब्युटरको गुनासो: कानुनी व्यापार संकटमा
सूर्या नेपाल प्रा.लि. का अधिकृत वितरकहरू (डिस्ट्रिब्युटर) ले नक्कली चुरोट बिक्रीले कानुनी रूपमा व्यापार गरिरहेका व्यवसायीहरू संकटमा परेको गुनासो गरेका छन्। उनीहरूका अनुसार, बारम्बार मौखिक रूपमा चेतावनी दिँदा पनि अवैध कारोबार रोकिएको छैन ।

“हामीले सरकारलाई राजस्व बुझाएर व्यवसाय गरिरहेका छौं, तर अवैध रूपमा नक्कली चुरोट बिक्री गर्नेहरूलाई प्रशासनले कारबाही नगर्दा हाम्रो व्यवसाय नै संकटमा परेको छ,” एक डिस्ट्रिब्युटरले भने ‘।

सशस्त्र प्रहरी तथा राजस्व कार्यालय र भन्सार कार्यालयको कमिकमजोरी?
सशस्त्र प्रहरी र राजस्व कार्यालय तथा भन्सार कार्यालयको कमजोरीकै कारण यो अवैध धन्दा बढ्दै गएको आरोप लगाइएको छ। स्रोतका अनुसार, सुराकीका आधारमा गरिएको पछिल्लो बजार अनुगमनमा नक्कली चुरोट बरामद भएको छ। तर, कारबाहीको प्रक्रिया ढिलो हुँदा व्यवसायीहरू निराश बनेका छन् ।

व्यापारीहरूले अवैध रूपमा नक्कली चुरोट बिक्री गर्नेहरूलाई छानबिन गरी कानुनी कारबाही गर्न माग गरेका छन्। यदि तत्काल कदम चालिएन भने व्यवसायीहरूले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया





Top