सबैलाको विवाद समाधान गर्न गृहमन्त्रीसँग बीपी साहको आग्रह !

न्यूज डेस्क     २०८१ चैत्र ७, बिहीबार १९:४८ बजे मा प्रकासित


जनकपुरधाम । धनुषा जिल्लाको सबैला नगरपालिका वडा नम्बर ९ भठिहनमा चौकको नाम सम्बन्धमा भइरहेको विवाद समाधानका लागि पहल गर्न नेपाल सरकारका गृहमन्त्री रमेश लेखकसँग बीपी साहले आग्रह गरेका छन् । बिहीबार सिंहदरबारस्थित गृहमन्त्रालयमा गृहमन्त्री लेखकलाई ज्ञापन पत्र बुझाउँदै नेता साहले उक्त विवाद समाधान गर्न र शान्तिपूर्ण वातावरण निर्माण गर्न आग्रह गरेका हुन् ।

तराई–मधेशका जिल्लामा पछिल्लो समय जातीय तथा धार्मिक द्वन्द्व बढाउने गतिविधिमा केही व्यक्ति र समूहहरु सक्रिय रहेको भन्दै जनमत पार्टीका केन्द्रीय सचिव समेत रहेका साहले विशेष छानविन समिति गठन गर्नसमेत नेपाल सरकारसँग आग्रह गरेका छन् ।

सबैलाको भठिहन विवादलाई थप चर्काउन उक्त पालिकाका मेयर नै लागेको आरोप लगाउँदै नेता साहले २०७४ असार ९ गते नै उक्त चौकको नाम भैरब चौक राखिएको बताएका छन् । अहिले विवाद बढ्दै गएपछि सबै जातजाती र समुदायलाई अपनत्व महसुस हुने गरी चौकको नाम राख्न र विवाद सामाधान गर्न नेता साहले आग्रह गरेका हुन् । साथै प्रहरीसँग भएको झडपमा घाइते भएकाहरुको उपचारको व्यवस्था गर्न नेपाल सरकारलाई आग्रह गरेका छन् ।

 

यस्तो लेखिएको छ ज्ञापन पत्रमा 

गृहमन्त्री लेखकलाई नेता साहले बुझाएको ज्ञापन पत्र

मिति २०८१ चैत्र ७ गते

माननीय गृह मन्त्री ज्यू,
नेपाल सरकार ।

विषयः ज्ञापन पत्र ।

माननीय मन्त्री ज्यू, पछिल्लो समय तराई–मधेशका विभिन्न जिल्लाहरुमा जातीय तथा धार्मिक द्वन्द्व गराउने व्यक्ति र समूहहरु सक्रिय भएको देखिन्छ । जसकारण देशको आधाभन्दा बढी जनसंख्या भएको तराई–मधेशको शान्ति सुरक्षामा खलल पर्न गई समग्र देशलाई नै द्वन्द्वको चपेटामा लग्न सक्छ । यस्ता गतिविधिहरु नियन्त्रण गर्न नेपाल सरकारको तर्फबाट विशेष छानविन तथा व्यवस्थापन समिति निर्माण गर्न आग्रह गर्दछु ।

माननीय मन्त्री ज्यू, पछिल्लो स्थानीय तह निर्वाचनमा म स्वयम् मेयर पदका प्रत्यासी उम्मेदवार रहेको धनुषा जिल्लाको सबैला नगरपालिकास्थित भठिहनमा रहेको चौकको बोर्डमा नाम लेख्ने विषयमा विवाद उत्पन्न हुँदा झडपसमेत भएको छ । वि.स.२०७४ असार ९ गतेका दिन विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयबासीहरुको उपस्थितिमा उक्त स्थानलाई भैरब चौक भनी स्थापना गरिएको विभिन्न प्रमाणहरु सार्वजनिक रुपमा उपलब्ध रहेको छ । (तस्बीरहरु यसैसाथ संलग्न छ)

तर, पछिल्लो समय उक्त चौकको बोर्डमा नाम लेख्ने विषयमा विवाद हुँदा मिति २०८१ माघ ७ गते जिल्ला प्रशासन कार्यालय धनुषामा सरोकारबालाहरुको बैठकले एक महिना भित्र नगर प्रमुख तथा वडा अध्यक्षको समन्वयमा नामाकरण गर्ने भनि निर्णय भएको थियो । तर उक्त अवधिमा नगर प्रमुखले समस्या समाधान गर्नुको साटो विवादित चौक बारे आफ्ना परिवारका सदस्यहरुलाई विभिन्न सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गराई थप विवाद गराउने गतिविधि गरेको प्रमाणहरु देखिन्छ । झण्डै दुई महिनासम्म नगर प्रमुखले विवाद समाधान नगर्दा पुनः विवाद भई झडपको स्थिति उत्पन्न हुँदा दुबै पक्षका सर्वसाधारण घाइते भए । प्रहरीको गोलीले एक जना युवा घाइते भएपछि पुनः मिति २०८१ चैत्र ५ गते भएको सम्झौता बमोजिम दुई महिनाभित्र नामाकरण गर्ने निर्णय भएको छ । तर, अहिले पनि उक्त स्थानमा विवाद बल्झिने सम्भावना देखिएकोले नेपाल सरकारको पहलमा सबै जातजाती–समुदायलाई अपनत्व हुने गरी उक्त विवाद समाधानका लागि पहल गरिदिन हुन अनुरोध गर्दछु ।

साथै विवादका क्रममा घाइते भएका दुबै पक्षका सर्वसाधारणहरुको स्वास्थ्य लाभको कामना गर्दै उपचार खर्च व्यवस्थापन गरिदिन सरकारसँग आग्रह गर्दछु ।

बीपी साह
मेयर पदका प्रत्यासी
सबैला नगरपालिका, धनुषा

 

प्रतिक्रिया





Top