जनकपुरधाम । मधेश प्रदेशमा प्रहरीकै मिलेमतोमा तस्करी धन्दा चल्दै आएको आरोप सार्वजनिक हुन थालेपछि एक सयभन्दा बढी प्रहरी जिम्मेवारीमुक्त भएका छन् ।
मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरका अनुसार हालसम्म १ सय १३ जना प्रहरीलाई जिम्मेवारी खोसिएको छ। जिम्मेवारीमुक्त हुनेमा सादा पोसाकमा खटिएका घुमुवा प्रहरीसहित गैरव्यावसायिक गतिविधिमा संलग्न विभिन्न दर्जाका प्रहरी कर्मचारी रहेका प्रदेश प्रहरी प्रमुख डीआईजी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।
उनका अनुसार ती प्रहरीलाई कार्यरत ठाउँबाट अन्यत्र सरुवा गरिएको छ। “गैरव्यावसायिक गतिविधिमा संलग्न प्रहरीको पहिचान गर्ने र जिम्मेवारी हटाउने प्रक्रिया अझै जारी छ,” डीआईजी चतुर्वेदीले बताए ।
सीमानाकामा तस्करी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र भन्सार कार्यालयका कर्मचारी खटाइएका हुन्छन्। यस्तै, प्रहरीले अतिरिक्त सहयोगका लागि ‘घुमुवा’ पनि परिचालन गर्दै आएको छ ।
तर, ती घुमुवामध्ये धेरैजसो तस्करहरूसँग सिधा हिमचिम बढाउने, लाइन मिलाउने र असुली गर्ने काममा लाग्ने गरेको आरोप सुरक्षा निकायमाथि लाग्दै आएको छ। यही कारण प्रदेश प्रहरी नेतृत्वले आन्तरिक छानबिनपछि कारबाही अघि बढाएको हो ।








प्रतिक्रिया