जनकपुरधाम । आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा धनुषा निर्वाचन क्षेत्र नं. १ बाट चुनावी प्रतिस्पर्धामा उत्रिन लागेका युवा नेता बीपी साह बारे चर्चा सुरु भएको छ। उनले यस क्षेत्रका जनता र मतदाताहरूसँग विभिन्न माध्यमबाट प्रतिक्रिया संकलन गर्न थालेका छन् ।
धनुषा जिल्लाको सबैला नगरपालिका वडा नम्बर १२ रघुनाथपुर स्थायी घर भएका बीपी साहको मामाघर धनुषाधाम नगरपालिकामा पर्छ। सामान्य किसान परिवारमा जन्मेका ३५ वर्षीय युवा नेता साह हाल एमफिल-पीएचडीको अध्ययन गरिरहेका छन् ।
उनले आम सञ्चार तथा पत्रकारिता विषयमा एमए र कानुन विषयमा एलएलबी गर्दै अहिले राजनीति शास्त्रमा एमफिल-पीएचडीको शोधपत्र (थेसिस) लेख्दैछन्। उनले कक्षा १ देखि ५ सम्म गाउँकै विद्यालयमा र कक्षा ६ देखि एसएलसीसम्म फकिरचन्द्र गामी उच्च मावि बरकुर्वाबाट अध्ययन गरे। जनकपुरधामबाट प्लस-टु र काठमाडौँको त्रिभुवन विश्वविद्यालयबाट थप अध्ययनहरू पूरा गरेका छन् ।
बीपी साह २०६४ सालदेखि पत्रकारितामा सक्रिय छन् र झन्डै १७ वर्ष रेडियो नेपालसहित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा काम गरेका छन्। नेपालको संविधान निर्माण प्रक्रियादेखि संसदीय गतिविधि र सरकारका विषयमा पत्रकारिता गरेकाले उनी संघीय संसद् र नेपाल सरकारको गतिविधिबारे जानकार मानिन्छन् ।
मधेश आन्दोलनमा पनि उनको सक्रिय सहभागिता थियो। मधेश आन्दोलनमा सबैभन्दा चर्चित हुलाकी न्यूज डटकमका संस्थापक तथा सम्पादकको रूपमा काम गर्दा नेपाल सरकारले उनीमाथि पक्राउ पुर्जी जारी गरी उनको मिडियालाई नेपालमा प्रतिबन्ध लगाएको थियो। यस क्रममा उनी केही दिन भारतमा भूमिगत भई त्यहीँबाट आन्दोलनमा सक्रिय रहेका थिए ।
धनुषा क्षेत्र नम्बर १ सहित विभिन्न जिल्लामा सामाजिक कार्यमा सक्रिय रहेका बीपी साहले कोरोना महामारीको समयमा आफ्नो क्षेत्रमा ‘कोही भोकै नबसौं’ अभियान चलाएर हजारौँ गरिबलाई खाना खाने व्यवस्था गरेका थिए। साथै, कोरोनाले सर्वसाधारणको मृत्यु हुँदा उनले स्वास्थ्य उपचारको व्यवस्थापनमा सक्रिय भूमिका खेलेका थिए ।
गरिब र दलितहरूको अधिकारका लागि समानताका आन्दोलनमा सक्रिय भएका उनी पटक-पटक पक्राउ परेका छन्। काठमाडौँमा मधेशीको अधिकारका लागि भएका आन्दोलनहरूबाट पनि उनी दुई पटक पक्राउ परी प्रहरी हिरासतमा गएका थिए। पछिल्लो जेनजी आन्दोलन र तराई-मधेशमा भएको किसान आन्दोलनका पनि उनी अगुवा हुन् ।
२०७९ सालको स्थानीय तह निर्वाचनमा उनी धनुषा क्षेत्र नम्बर १ मै पर्ने सबैला नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका थिए। ‘अंगना मे नगरपालिका, मोबाइल स काम’ जस्ता आधुनिक विचार लिएर चुनावी मैदानमा उत्रिएका बीपी साहको विचारबाट प्रभावित भएर उक्त पालिकाका जनताले राम्रो मत दिएका थिए। पहिलो पटक चुनावी मैदानमा भएको र दलहरूले गठबन्धन गर्दा पनि उनले सम्मानजनक मत ल्याएर पराजित भएका थिए।
२०७९ कै प्रदेश तथा प्रतिनिधिसभा चुनावमा उनी धनुषा क्षेत्र नम्बर १ को चुनावी कमान्डरका रूपमा खटिएका थिए। उनले उठाएका प्रतिनिधिसभा सदस्यका उम्मेदवारले १४ हजारभन्दा बढी मत प्राप्त गरेका थिए भने प्रदेशसभाका उम्मेदवारहरूले पनि सम्मानजनक मत ल्याएका थिए ।
यसपटक उनी आफैँ धनुषा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उठ्ने तयारीमा छन्। उक्त क्षेत्रको समस्या र जनताको भावनासँग जानकार बीपी साहले क्षेत्रका विभिन्न समूहहरूसँग छलफलमा जुटेका छन् ।
उनले क्षेत्रबाट वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यतालाई कम गर्न रोजगारी सिर्जना गर्न सक्ने विषयमा विज्ञहरूसँग छलफल गर्दैछन् । सामुदायिकस्तरमा गुणस्तरीय विद्यालयहरू स्थापनाका विषयमा अध्ययन गर्दै छन्। उनी रोजगारी, शिक्षा र विकासका लागि योजनासहित निर्वाचनमा भाग लिने बताउँदैछन् ।
छलफलका क्रममा बीपी साहले भनेका छन्, “म पढेलेखेको सक्षम उम्मेदवार छु भने सहयोग गर्नुस्, मन्त्री-सांसद भएर यस क्षेत्रको विकास गरेको छैन भने मेरो विरोध गर्नुस्। म यस क्षेत्रको समस्या उठाउन सक्ने र अन्याय अत्याचारका विरुद्ध बोल्न सक्ने क्षमता राख्छु भने सहयोग गर्नुस्, मन्त्री-सांसद भएर जनतालाई मैले धोका दिएको छु भने मेरो विरोध गर्नुस्।”








प्रतिक्रिया