महोत्तरी । सम्सी र रघुनाथपुर सीमामा पछिल्लो समय तस्करीको गतिविधि झनै बढेको तथा त्यसबारे सुरक्षा निकायहरू मौन बसेको स्थानीयबासीले गुनासो गरेका छन्। भारतबाट विभिन्न उपभोग्यवस्तु राजस्व छली गर्दै नेपाल भित्र्याइने क्रम रोकिएरै नरोकेको र यो प्रक्रियामा सीमा सुरक्षामा खटिएका केही सशस्त्र प्रहरी स्वयं निष्क्रिय रहेको आरोप लगाइएको छ।
सशस्त्रले ‘घुमुवा’ राखेको आरोप
स्थानीय स्रोतका अनुसार तस्करी नियन्त्रणका लागि खटाइएका केही सशस्त्र प्रहरी स्वयंले गोप्य रूपमा घुमुवा परिचालन गरेका छन्। सरकारले घुमुवा राख्न कडा प्रतिबन्ध लगाएको भए पनि सीमाक्षेत्रमा पैसाको लेनदेन मिलाउन तथा तस्करीको गुप्त सूचना आदान–प्रदान गरिनको लागि घुमुवा प्रयोग गरिरहेको दाबी गरिएको छ।यही कारणले सम्सी, रघुनाथपुरदेखि गाैशाला बजारसम्म भारतीय सीमाबाट कपडा, चिनी, पेयपदार्थ तथा खाद्यान्न जस्ता सामग्री सहजै प्रवेश गरिरहेको स्थानीयवासीहरूको आरोप छ।
“आँखा अगाडि लोड भएर गएको देख्दा पनि प्रहरी केही बोल्दैनन्”
सम्सी सशस्त्र वेशक्याम्पकाे दक्षिण तर्फ पेयपदार्थ र चिनी लोड गर्दै गरेको वसलाई प्रहरीले नरोकेको भन्दै स्थानीयले प्रश्न गर्दा एक प्रहरी जवानले “चिनीको भन्सार कटाउ छ” भन्दै जवाफ दिएको बताइन्छ। तर पेयपदार्थको भन्सार नकट्ने हुँदा त्यो कसरी जान दिइयो भन्ने प्रश्न सोध्दा प्रहरीले कुनै जवाफ नदिएको स्थानीयले बताए।
इलाका प्रहरी गाैशाला पनि मौन, तस्करी व्यवस्थित रूपमा संचालन?
गाैशाला बजारमा दैनिक रूपमा तस्करी गरिएका सामग्री खुलेआम बिक्री भइरहेको भए पनि इलाका प्रहरी कार्यालय गाैशाला यसबारे मौन बसिरहेको स्थानीय व्यापारी तथा सर्वसाधारणको आरोप छ। नियमित रूपमा विभिन्न नाकाबाट चिनी तथा कपडाजस्ता सामग्री भित्रिरहेको भए पनि कुनै नियन्त्रण देखिनु न त रोकथामका उपाय देखा परेको स्थानीय बताउँछन्।
चिनी नेपालमै पर्याप्त भए पनि भारतबाट भित्र्याइदा बजार अस्थिर
नेपालमा चिनी पर्याप्त मात्रामा स्टक हुँदाहुँदै पनि भारतीय चिनी अवैध रूपमा भित्रिनुले बजार मूल्य र आपूर्ति व्यवस्थामा नकारात्मक असर पारेको उपभोक्ता अधिकारकर्मी बताउँछन्। तस्करीका कारण कर राजस्वमा हानि हुनुका साथै नेपाली उद्योग तथा वैध व्यापारसमेत संकटमा परेको उनीहरूको भनाइ छ।
स्थानीयबासीको माग—“कडा निगरानी र जिम्मेवारी लिने नेतृत्व चाहिन्छ”
सम्सीदेखि गाैशाला क्षेत्रसम्म तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरी, भन्सार कार्यालय र जिल्ला प्रहरी कार्यालयबीच समन्वय अभाव देखिएको स्थानीयको आरोप छ। तिनै निकायले जिम्मेवारीपूर्वक काम नगरे तस्करी झनै बढ्ने तथा स्थानीय अर्थतन्त्रदेखि सामाजिक सुरक्षासम्म प्रभावित हुने उनीहरूको चेतावनी छ।
स्थानीयहरू भन्छन्—“हामीलाई सुरक्षा चाहिएको हो, मौनता होइन।”
माेटरसाईकल कपडा ल्याउदै सडक छेउ ,गाउँ वालवालिका ज्यान जाेखिमा पर्न सक्छ किन कि उहाँहरुकाे गाडि तेज गतिमा रहेकाे हुन्छ।








प्रतिक्रिया