अस्पतालको शवगृहको बिजोग : कहिले शव कुहिएर किरा पर्छ, कहिले मुसाले खान्छ 

न्यूज डेस्क     २०७९ बैशाख ७, बुधबार १०:२० बजे मा प्रकासित


लामो समयदेखि राप्ती प्रादेशिक अस्पतालको शवगृह लथालिंग अवस्थामा छ । गत फागुनमा आत्महत्या गरेकी तुलसीपुर–९ अटोभिलेजकी ६० वर्षीया ठगी बोहराको शव पोस्टमार्टमका लागि शवगृहमा राखिएको थियो । शवगृहमा राखिएको शवको टाउकोलगायत शरीरका विभिन्न अंग मुसाले खाएको अवस्थामा थियो । शवको अवस्था देखेपछि आफन्तजनले आपत्ति जनाए । अस्पताल प्रशासनसँग भनाभनसमेत भएको थियो । अस्पताल प्रशासनले सुधार गर्ने प्रतिबद्धता जनाए पनि अहिले पुनः त्यस्तै समस्या दोहोरिएको छ ।

गत ३० चैतमा आत्महत्या गरेकी तुलसीपुर–९ बेलुवाकी २६ वर्षीया उर्मिला केसीको शव ४ वैशाखमा पोस्टमार्टम गर्ने वेला कुहिएर गलेको अवस्थामा पाइएपछि आफन्तीहरूले आपत्ति जनाए । शव कुहिएपछि त्यसले पोस्टमार्टम रिपोर्ट पनि सत्य आउन नसक्ने र प्रमाण पनि नष्ट हुने भन्दै उनीहरूले आपत्ति जनाएका हुन् ।

‘शवगृहमा अनिवार्य फ्रिज हुनुपर्ने हो । शव कुहिनुले सबै प्रमाण नष्ट भएर गएका छन्,’ आफन्त कृष्ण केसीले भने, ‘त्यसैले यस्तो लापरवाहीले धेरै समस्या निम्त्याउँछ ।’ प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहले फ्रिजमा लाइन नभएकाले शव कुहिने गरेको बताए । ‘त्यो दिन हावाहुरी आयो, त्यसले गर्दा विद्युत् अवरुद्ध भएको थियो,’ उनले भने, ‘त्यही कारणले पनि शव कुहिने अवस्थामा पुगेको हो ।’ शव राखेको पाँच दिन भएकाले पनि कुहिएको हुन सक्ने उनको भनाइ छ । पीडितहरूको अनुमति नलिई शव हेर्न पनि नमिल्ने भएकाले शवको अवस्था कस्तो छ भन्ने थाहा हुन नसकेको सिंहले बताए ।

प्रतिक्रिया





Top