जनकपुरधाम । सिरहा जिल्लाकाे कल्याणपुर नगरपालिकाका मेयर सूर्यनाथ मण्डलले घुस प्रकरणमा अदालतबाट सफाई पाएका छन् ।
गत वि.सं. २०७७ सालको असार ३१ गतेको दिन मेयरका छोरा सन्त कुमार मण्डलले ५ लाख रुपैयाँ घुससहित रँगेहात पक्राउ परेपछि मेयर निलम्बनमा परेका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा तत्कालिन मेयर सूर्यनाथ मण्डल र उनका छोरा सन्त कुमार मण्डलमाथि भ्रष्टाचार मुद्दा दायर भएपछि २०७७ साउन २८ गतेदेखि नै निलम्बनमा परेका थिए ।
काठमान्डौँस्थित रहेको विशेष अदालतले शुक्रबार गरेको निर्णयमा मेयर मण्डललाई सफाई दिएको उल्लेख छ । विशेष अदालतले उनलाई आरोपदाबीबाट सफाई दिएको हो ।
२०७७ सिआर ००१२ नम्बरको घुस सम्बन्धी मुद्दामा मेयर मण्डलकै ईसारामा उनको छोराले घुस लिएको अनुसन्धानबाट खुलेको थियो । आरोपत्र दायर भएपछि उनी निलम्बनमा परेका थिए ।

मेयर मण्डलका छोरा गत असार ३१ गते डिपीआर कामको भुक्तानीका लागि सेवाग्राहीसँग ५ लाख रुपैयाँ घुस लिँदालिँदै लहानबाट पक्राउ परेका थिए ।
घुस रकम मेयर मण्डलले मागेको र घुस लिन छोरालाई पठाएको पुष्टि भएकाले उनी दुबै जनामाथि मुद्दा दायर गरिएको अख्यितयारले जारी गरेको विज्ञप्तिमा अझै उल्लेख छ ।
डिपिआर निर्माण कार्य सम्पन्न गरेको कामको भुक्तानीका लागि काटिएका चेक दिन घुस मागेको र सेवाग्राहीले नियमानुसार पाउनुपर्ने भुक्तानी नगरी दुःख दिएको अख्तियारको दाबी थियो ।
उक्त चेकको सो दिन अन्तिम म्याद भएको हुँदा चेक क्लियरिङ नभई चेकको म्याद नै समाप्त भएपछि हालसम्म पनि भुक्तानी सेवाग्राहीले पाउन नसकेको अख्तियारले जनाएको थियो ।
चेकको म्याद समाप्त भएका कारण भुक्तानी हुन नसकेकाले मेयर मण्डलमाथि बिगो ५ लाख र उनका छोरा सन्तकुमारले ५ लाख लिएको तथ्य स–प्रमाण पुष्टि हुन आएकोले उनीमाथि पनि बिगो ५ लाख कायम गरी भ्रष्टाचार निवारण ऐनबमोजिम सजायको मागदाबी लिई अख्तियारले विशेष अदालतमा आरोप–पत्र दायर गरेको थियो ।








प्रतिक्रिया