केही दिनदेखि देशभर गर्मी, जनजीवन बढी प्रभावित

न्यूज डेस्क     २०७९ बैशाख १४, बुधबार ०८:२४ बजे मा प्रकासित


 

केही दिनदेखि देशभर गर्मी बढेको छ । देशका सबैजसो ठाउँमा अधिकतम तापक्रम बढेको छ भने तातो हावा र सुख्खा हावा चल्न थालेको छ । पहाडी क्षेत्रका केही ठाउँमा मौसम आंशिकदेखि सामान्य बद्ली भएर बेलुकीपख केही शीतल भए पनि तराईका जिल्लामा मौसम बद्ली नहुँदा जनजीवन बढी प्रभावित बनेको छ ।

तराईका धेरैजसो ठाउँमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ । गएको २४ घण्टामा धनगढीको अधिकतम तापक्रम ४० दशमलव ८ डिग्री सेल्सियस, नेपालगञ्ज र भैरहवाकोे ४० दशमलव ६ डिग्री सेल्सियस पुगेको छ । यस्तै, वीरेन्द्रनगरको ३७ दशमलव २ डिग्री सेल्सियस, घोराहीको ३७ डिग्री सेल्सियस, सिमराको ३६ दशमलव ४ डिग्री सेल्सियस, दीपायलको ३६ दशमलव ३ डिग्री सेल्सियस पुगेको छ ।

यस्तै, काठमाण्डौको अधिकतम तापक्रम ३२ दशमलव ३ डिग्री सेल्सियस पुगेको छ । गर्मीसँगै तातो हावा चल्न थालेकाले सकेसम्म दिउँसोको समयमा घर बाहिर ननिस्कन र खेतबारीको काम बिहान बेलुका मात्रै गर्न सरकारले आग्रह गरिसकेको छ । गर्मीको यो समयमा प्रशस्त शुद्ध पानी पिउन र पानी पाइने फलफूल खान पनि सुझाव दिइएको छ । यसैबीच,  केही दिन यता बढेको गर्मी भोलि भने केही कम हुनसक्ने अनुमान गरिएको छ ।

मौसमविद् समिर श्रेष्ठका अनुसार भोलि पूर्वी क्षेत्रबाट जलवाष्पयुक्त हावा नेपाल आउने सम्भावना रहेकाले पहाडीसहित तराईमा पनि मौसम आंशिकदेखि सामान्य बद्ली हुने सम्भावना छ ।  केही ठाउँमा हल्का  पानी समेत पर्ने सम्भावना रहेकाले केही राहत मिल्ने मौसमविद्ले बताएका छन् ।

 

प्रतिक्रिया





Top