उम्मेदवारले आचारसंहिता मिचेर चुनावी प्रचारमा बालबालिकालाई प्रयोग गर्ने क्रम बढ्दै

न्यूज डेस्क     २०७९ बैशाख २७, मंगलवार ०७:५१ बजे मा प्रकासित


जनकपुरधाम।

दल र उम्मेदवारले आचारसंहिता मिचेर चुनावी प्रचारमा बालबालिकालाई प्रयोग गर्ने क्रम बढेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतको राष्ट्रिय बालअधिकार परिषद्मा परेको उजुरीलाई मात्रै आधार मान्दा पनि वैशाख ८ यता आठवटा दलले बालअधिकार उल्लंघन गर्दै बालबालिकालाई सभा–जुलुसमा लगाएका छन् ।

परिषद्ले आफ्नो संयन्त्र परिचालन गरेर चुनाव प्रचारप्रसारमा बालबालिका प्रयोगसम्बन्धी विवरण संकलन गरिरहेको छ । परिषद्ले अनलाइनबाट पनि प्रमाणसहित उजुरी लिइरहेको छ । ती उजुरीअनुसार दलहरूले चुनाव चिह्न अंकित टिसर्ट, टोपी र स्टिकर लगाइदिएर बालबालिकालाई जुलुस र सभामा लाने गरिएको छ । वक्ता तथा कलाकारका रूपमा, पर्चा बाँड्न, नारा लगाउन, झन्डा बोक्न पनि बालबालिका प्रयोग गरिएको छ । ‘हामीले आफ्नो संयन्त्र र अनलाइनबाट संकलन गरेको प्रमाणसहितको विवरणलाई निर्वाचन आयोगमा उजुरीका रूपमा पठाएका छौं,’ परिषद्का अध्ययन अनुसन्धान तथा प्रशिक्षण शाखा प्रमुख आत्मराम थापाले भने ।

सोमबार मात्रै माओवादी पार्टीले धनुषाको सबैला नगरपालिकामा जुलुस निकाल्दा सयभन्दा बढी बालबालिका सहभागी गराएको थियोे।

बालबालिका ऐनको दफा ६६ (२) मा राजनीतिक दलहरूले बालबालिकालाई राजनीतिक प्रयोजनका लागि सहभागी गराउन नहुने व्यवस्था छ । ऐनअनुसार राजनीतिक उद्देश्य पूरा गर्न बालबालिकालाई प्रयोग गर्नु कसुर हो । बालबालिकालाई जुलुसुमा सहभागी गराए र राजनीतिक रूपमा प्रयोग गरे ७५ हजार रुपैयाँसम्म जरिवाना र ३ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था बालबालिका ऐनमा छ । निर्वाचन आचारसंहितामा १८ वर्षभन्दामुनिका बालिबालिकालाई निर्वाचन प्रचारप्रसारमा प्रयोग गर्न नहुने उल्लेख छ ।

प्रतिक्रिया





Top