धनुषा : हेडमास्टरले आफ्नै श्रीमतिलाई जागिर गिफ्ट, लाईसेन्स बिना ५ जनाको नियुक्ति

न्यूज डेस्क     २०७९ जेष्ठ ११, बुधबार १९:२६ बजे मा प्रकासित


जनकपुरधाम । धनुषा जिल्लाको एक सरकारी विद्यालयमा केही पदाधिकारीहरुले आफ्नै पाँच जना आफन्तलाई गैर कानुनी नियुक्ती गरेको सूचना प्राप्त भएको छ ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ९ ईच्छापुरको समुदायिक विद्यालयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र हेडमास्टरले आ–आफ्ना ५ आफन्तलाई गैर कानुनी नियुक्ति गरेको खुलेको छ ।

त्यहाँस्थित रहेको मावि ईच्छापुरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम अशिष महतो र विद्यालयका हेडमास्टर (प्रधानाध्यापक) बैकुण्ठ श्रेष्ठ मिलेर आ आफ्ना आफन्तलाई बिना अध्ययापन लाईसेन्सकै गैर कानुनी नियुक्ति गरेको खवर प्राप्त भएको छ ।

सरकारी विद्यालयमा कुनै पनि शिक्षक भर्नाको लागि सार्वजनिक सूचना, विज्ञापन निकाल्नुपर्ने प्रावधान रहेकोमा विद्यालयले कुनै प्रकारको विज्ञापन नै नगरी आफ्ना आफन्तहरुलाई भर्ती गरेको नाम नखोल्ने शर्तमा एक स्थानीयले बताए ।

सो विद्यालयको प्रा.वि., निमावि र मावि तह गरी बिणा यादव, सुजिता यादव, अरबिन्द कुमार यादव, मोहमाया श्रेष्ठ र मनोज कुमार महतोलाई गैर कानुनी नियुक्ति गरिएको आरोप लगाइएको छ ।

सो मध्ये मोहमाया श्रेष्ठ विद्यालयका हेडमास्टर बैकुण्ठ श्रेष्ठका श्रीमति हुन् । उनले जन्मदिनको अवसरमा उनलाई बर्थडे गिफ्ट भनेर विद्यालयमा नियुक्ति दिएको आफैँ उल्लेख गरेका छन् ।

गत बर्षको माघ २ गते उनको श्रीमतिको परेको जन्मदिनको अवसरमा उनलाई जागिर गिफ्ट गरेको आफ्नो फेसबुकमा लेखेका छन् ।

यता, सो सन्दर्भमा विद्यालयका हेडमास्टर श्रेष्ठले विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार नै नियुक्ति गरेको दाबी गरेका छन् । पत्रपत्रिकामा सार्वजनिक विज्ञापन गर्नुपर्ने प्रावधान रहेको प्रश्नमा उनले व्यवस्थापन समितिले निर्णय गरिदिएपछि विज्ञापनको आवश्यकता नपर्ने प्रतिक्रिया दिए ।

सोही क्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम अशिष महतोले भने शिक्षक नियुक्तिको बारेमा प्रश्न गर्दा जवाफ दिन सकेनन् । सार्वजनिक विज्ञापनको बारेमा सोधिएको प्रश्नमा उनले केही बोल्न सकेनन् । सुरुमा विज्ञापन गरेको प्रतिक्रिया दिएका अध्यक्ष महतोले कुन पत्रिकामा कहिले गर्नुभएको सोध्दा हेडमास्टरलाई सोध्न भन्दै अवाक्क भए ।

यसैक्रममा, जिल्ला शिक्षा समन्वय ईकाई धनुषाले यस सन्दर्भमा उजुरी परेपछि छानबिन गरी कारवाही गर्ने जनाएका छन् ।

प्रतिक्रिया





Top