जनकपुर।
धनुषाको १८ पालिका मध्ये सातवटा पालिका बाढीको उच्च जोखिममा छन्।
धनुषाको कमला नगरपालिका, शहिदनगर नगरपालिका, सबैला नगरपालिका, नगराइन नगरपालिका, धनौजी गाउँपालिका, मुखियापट्टी मुसहरनियाँ गाउँपालिका र जनकनन्दनी गाउँपालिका बाढीजन्य विपद्को हिसाबले उच्च जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिका सभापति तथा धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताउनुभयाे ।
बाढी पहिरोको उच्च जोखिममा रहेका स्थानीय तहका विभिन्न वडाले बर्सेनि डुबान र कटानको समस्या भोग्दै आएका छन्। बाढीजन्य विपद्को दृष्टिले धनुषाको पाँच पालिका मध्यम जोखिममा र छ पालिका न्यून जोखिममा छन्। जिल्लाको जनकपुरधाम उपमहानगरापालिका, गणेशमान चारनाथ नगरपालिका, धनुषाधाम नगरपालिका, विदेह नगरपालिका र औरही गाउँपालिका बाढीजन्य विपद्को दृष्टिले मध्यम जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समिति धनुषाले बताउनुभयाे ।
जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका, मिथिला विहारी नगरपालिका, मिथिला नगरपालिका, लक्ष्मीनियाँ गाउँपालिका, बटेश्वर गाउँपालिका, हंसपुर गाउँपालिका न्यून जोखिममा रहेका छन्। कमला खोला, जमुना खोला, औरही खोला, बहरी खोला, बसही खोला र जलाद खोलामा आउने बाढीका कारण बर्सेनि ठूलो धनजनको क्षति पुर्याउँदै आएको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताउनुभयाे ।
अघिल्लो वर्ष विपद्का कारण धनुषामा चार जनाको मृत्यु भएको भएको थियो । करिब डेढ करोड मूल्य बराबरको धनमाल क्षति भएको हाे ।विपदमा परेर मृत्यु भएका चारै जनाको परिवारलाई एक लाखको दरले राहत वितरण गरिसकेको हाे । अघिल्लो वर्षको असिना पानी, हावाहुरी तथा बाढीबाट प्रभावित धनुषाको मिथिला नगरपालिका र बटेश्वर गाउँपालिकाका २२१ घर परिवारलाई दुई बण्डलका दरले जस्तापाता वितरण गरिएको हाे ।
बाढीजन्य प्रकोपका कारण बर्सेनि हुने धनजनको क्षतिलाई न्यूनीकरण गर्ने उद्देश्यले जनकपुरधाममा मनसुनजन्य प्रतिकार्यसम्बन्धी कृत्रिम अभ्यास गरिएको हाे । जिल्ला विपद् व्यवस्थापन समिति धनुषाको आयोजना तथा धनुषाको क्षीरेश्वरनाथ नगरपालिकास्थित नेपाली सेनाको श्रीनाथ गणको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले मनसुनजन्य प्रतिकार्य सम्बन्धी कृत्रिम अभ्यास गरेका हुन्।
जनकपुरधामस्थित गंगासागर पोखरीलाई जिल्लाका मुख्य नदीको प्रतिकात्मक रूपमा चार भागमा विभाजित गरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको टोलीले बोडिङ, लाइफ ज्याकेट लगायतको सामग्रीको सहायतामा विपदमा परेकाको उद्धारसम्बन्धी कृत्रिम अभ्यास गरेको थियो।
विपद्का समस्या पीडितलाई कसरी उद्धार गर्ने, बाढीमा पसेकालाई उद्धार गरेर सुरक्षित स्थानमा कसरी लैजाने, घाइतेको प्राथमिक उपचार कसरी गर्ने, उद्धारका क्रममा सुरक्षाकर्मी आफू कसरी सुरक्षित हुने र विपद्का बेला के-के कुरामा ध्यान दिनेलगायतका विषयवस्तुलाई समेटेर सुरक्षाकर्मीले विपद् पूर्वाभ्यास प्रस्तुत गरेका थिए।
मनसुनजन्य प्रतिकार्य सम्बन्धी कृत्रिम अभ्यास कार्यक्रममा बोल्दै जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले विपद् कसैलाई सोधेर वा भनेर नआउने भएकाले विपद्को समयमा सचेत भई त्यसबाट हुन सक्ने क्षतिलाई कम गर्न सकिने बताउनुभयाे।
जनकपुरधाम पनि विभिन्न नदीहरूको कारण बाढीको जोखिममा रहेकाले नदी नियन्त्रणका लागि प्रयास गरिने प्रतिबद्धता व्यक्त गर्दै बाढीबाट हुने धनजनको क्षतिलाई रोक्न विपद् पूर्वाभ्यास कार्यक्रम महत्त्वपूर्ण कडी हुने विश्वास व्यक्त गरेकाे हाे। धनुषाका प्रमुख जिल्ला अधिकारी पौडेलले विपद् व्यवस्थापनका लागि तीनै तहको सरकार बीच समन्वय आवश्यक रहेको बताउँदै स्थानीय तहहरू पनि विपद् न्यूनीकरणका लागि आवश्यक योजना, कार्यक्रम बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिएकाे हाे। स्थानीय तहको सरकारलाई पनि विपद् व्यवस्थापनमा सक्रिय बनाउन छिट्टै पालिका प्रमुखको बैठक बनाउने जानकारी दिँदै मनसुन सक्रिय हुन थालेकाले विपद्को पूर्वतयारीमा जुट्न आग्रह समेत गरेकाे हाे।








प्रतिक्रिया