अभियन्ता यादवले तेस्रो दर्जाको गायकहरूलाई नियन्त्रणकालागि बोर्डमा दिए उजुरी

न्यूज डेस्क     २०७९ श्रावण २०, शुक्रबार १२:३१ बजे मा प्रकासित


सप्तरी । गीत-सङ्गीत र सिनेमा भनेको कुनै क्षेत्र-भूगोलको संस्कृति र परिवेशको मुहार देखाउने ऐना हो। नेपालकै सबभन्दा बढी बोलिने दोस्रो स्थानको भाषा मैथिली र मधेश प्रदेशकै पहिलो स्थानको भाषा त सङ्गीतकै भाषा हो भनेर राष्ट्रिय-अन्तराष्ट्रिय जगतमा विद्वानहरूले प्रस्ट गरि सकेका छन् भन्ने कुरा अवगतै छ। मैथिली भाषा नेपाली, हिन्दी र भोजपुरी भाषा भन्दा सयौँ वर्ष प्राचिन भाषा रहेको छ। जसको जन्म देखि मृत्यूसम्मका लोक-पारम्परिक सङ्गीत देखि लिएर मौलिक सङ्गीत विश्वमा नै लोकप्रिय रहेको छ। मैथिली भाषा नेपालको एक समयको राजकीय भाषा पनि रहेको थियो। यसका विशिष्टता र विशेषता बारेमा संसार नै आश्चर्यचकित र परिचित छ।

हुन त सङ्गीत र सिने क्षेत्रमा यूट्यूब मार्फत यी अश्लील र दुई अर्थी गीत निर्माण जस्ता घृणित कार्यहरू मैथिली क्षेत्रमा ठ्याक्कै ३ वर्ष देखि भई रहेको छ तर अहिले भयावह रूप लिई सकेको अवस्था छ। यसलाई अब पनि यथाशीघ्र रोकिएन भने मैथिली पनि ‘अश्लीलताको भोजपूरी’ जस्तै दर्जा पाउने निश्चित छ।

मधेशका ‘बेटी’ हरू लाई तेस्रो दर्जाको गायकद्वारा गीतले र गीतमा नै बारम्बार बलात्कार कहिले सम्म ? यसका नियन्त्रणका लागि मधेश सरकार र मधेश चलचित्र विकास बोर्डको कुनै भूमिका छैन ? साङ्गीतिक दृष्टिकोणले पावन मिथिलालाई अब अश्लील मधेश भन्न मिल्छ ? मुद्दा हालेरै त्यस्तालाई नियन्त्रण गर्न सकिन्छ भने हामी मधेशका संवेदनशील युवा र सामाजिक कार्यकर्ताहरू तैयार छौँ ।

यी अश्लील र अभद्र कनटेन्टहरूको बाजारीकरणले गर्दा भाषाको मधुरता मर्ने र हामीलाई विश्व माझ चिनाउने संस्कार र सर्वसाधारण जनताको नैतिकता र मानसिकता अझै निम्न स्तर हुने प्रचुर सम्भवना छ। यति बेला मैथिली सङ्गीत उद्योगमा यस घृणित कार्यलाई संकट नै मान्नु पर्छ।

अहिले मिथिला-मधेशमा टेक्निकल संसारमा यूट्यूब देखि टिकटॅक र ग्रामीण ग्राउण्डमा डिजे देखि हर्न सम्ममा प्यारोडी त प्यारोडी तर ९०% मैथिलीका अश्लील र दुई अर्थी गीतहरू बजी रहेको अवस्था छ। यसले गर्दा सबैभन्दा बढी बालबालिकामा मनोवैज्ञानिक असर गतिलो रूपमा बढी रहेको देखिन्छ। ३-४ वर्षका बच्चाले पनि ती गन्दगी भरेका गीतहरू दिनहुँ गुनगुनाई रहेका देखिन्छन्। गीतमा आफ्नो प्रेमिका, अरूको बहिनी, बुहारी, काकी, आफ्नो भाउजू र मधेशका बेटीहरूको नामहरू राखेर यौनी देखि यौन सम्मका कुराहरू खुलस्त रूपमा सुन्न र देख्न सकिन्छ। अलिकति पनि चेतनशील श्रोतालाई आफ्नै भाषा र आफ्नै गाउँ-ठाउँको कलाकार प्रति घृणा जाग्ने सम्मको अनूभुती भई रहेको देखिन्छ। भाषा-संस्कृति सङ्ग भद्दा मज्जा भई रहेका जस्ता कार्यहरू आफैमा लज्जास्पद हो। यस्ता अभद्र क्रियाकलापले हाम्रो समाजलाई भित्री र बाहिरी दुवै रूपले नाकारात्मक असर पारेको आभाष गर्न सकिन्छ। मधेश बाहिर बसेका मधेशीहरूको लागि आत्मसम्मानको दृष्टिकोणले Minus Point हुन गएको छ। बुद्धीजीवी युवा र प्रौढहरूले यूट्यूब, टिकटॅक, रेडियो आदि मार्फत कयौँ ठाउँ र मञ्चहरूमा समेत मैथिली गीत र भिडियो बज्न साथ टाउको निहुरिएको अनुभव सुनाउँछन्। यो हुनु पनि त स्वभाविक नै हो। किनभने गीत-सङ्गीत र सिनेले नै कुनै क्षेत्रको मुल्य, मान्यता र सभ्यतालाई जो चिनाउँछ।

मधेश चलचित्र विकास बोर्डले गर्नु पर्ने कार्यहरू के हुन् त ? चलचित्र र सङ्गीतको संरक्षण-संवर्धनको लागि विनियोजित बजेटको जन-स्तरमा कतिको सदुपयोग भई रहेको छ त? सित्तैमा भत्ता खाने कार्य त भई रहेको त छैन नि ? जस्ता प्रतिक्रियाहरू यती बेला सामाजिक सांस्कृतिक जागरण र रूपान्त्रणमा दशकौँ देखि लागेका म जस्ता अभियन्ताहरूलाई आन्दोलित गरि रहेको छ म विनम्रपूर्वक जानकारी गराउँदछु।

नेपालको पूर्व चलचित्र विकास बोर्डका अध्यक्ष तपाईँ जस्ता अनुभवी र दक्ष प्राप्त व्यक्तित्वको अध्यक्षतामा मधेश चलचित्र विकास बोर्ड गठन भएकोमा हामी मधेशबासी गौरवान्वित छौँ। जब तपाईँकै कार्यकालमा यो दूषकार्य नियन्त्रण भएन भने यो पछि गएर विशाल रूप लिने निश्चित छ। बरू एक-दुईवटा तेस्रो दर्जाका गायकलाई कार्यवाही गरेर वा नियन्त्रणमा लिएर जब मैथिली फिल्म उद्योगको हालको मैलो मुहार सफा हुन सक्छ र मैथिलीको मौलिकता, मधुरता, स्तरियता भरिएको अस्मिता बच्न सक्छ भने यस्ता शुभ कार्य गर्न ढिला किन ?

यसै निवेदन पत्र मार्फत कार्यकालको हार्दिक शुभकामना साथ अश्लील गायकहरूलाई शीघ्र नियन्त्रणमा लिन, युट्यूबाट डिलिट गर्न, अश्लील गीत बजाउन निषेध र यसका समाधानका लागि गर्न सक्ने कदमहरू उठाउँन आग्रह गर्दै यो निवेदन पेश गर्दछु। मधेश फिल्म उद्योगको स्थापनाको लागि र स्तरियता वृद्धीका लागि सदैव सहयोग र सहकार्य गर्ने प्रतिवद्धता पनि व्यक्त गर्दछु। यस मुद्दा प्रति सकारात्मक प्रतिक्रिया र पहलको अपेक्षा रहने छ।

प्रतिक्रिया





Top