जनकपुरधाम। घाँस काटेको निहुँमा निर्घात कुटिएकी सुनसरीको बर्जु गाउँपालिका–३ की चन्नरदेवी रायको मृत्यु भएको छ । छिमेकी सङ्गीताकुमारी रायले कुटपिट गरेपछि २६ वर्षीया रायको उपचारक्रममा मृत्यु भएको हो ।
साउन १३ मा चन्नरदेवी घरनजिकैको खेतमा घाँस काट्न गएकी थिइन् । छिमेकीका अनुसार उनी आफ्नै खेतमा घाँस कारिहेकी थिइन् । तर सङ्गीताले भने आफ्नो खेतमा घाँस काटेको भन्दै निर्घात कुटपिटमात्र गरिनन्, योनीभित्र हातसमेत हालिदिएर यातना दिइन् । जसकारण, चन्नरदेवीको अवस्था जटिल भयो ।
सङ्गीताको परिवारले चन्नरदेवीलाई केही समय अघिदेखि नै धम्की दिँदैथियो । तर १३ गते भने घाँस काटेको निउँमा निर्घात कुटपिट नै गरियो । आफूमाथि कुटपिट भएको नौ दिनपछि चन्नरदेवीले उपचारक्रममा कोसी अस्पतालमा अन्तिम सास फेरेकी हुन् ।
पत्नीमाथि कुटपिट भएपछि चन्नरदेवीमा पति सकलदीप रायले श्रीमतीलाई उपचारका लागि कोसी अस्पताल लगेका थिए । कोसी अस्पतालमा सामान्य उपचारपछि उनले पत्नीलाई घरै लगे ।
तर कुटाइको पीडा बिसेक भएन । पुनःउपचारका लागि आइतबार बिहान कोसी अस्पताल लगियो । आइतबार बिहान नै उनको मृत्यु भएको हो । आर्थिक अवस्था कमजोर भएका कारण उनलाई उपचार गराउन वा अन्यन्त्र लगेर थप उपचार गर्न पनि समस्या भयो । सकलदीप ठेलामा चटपटे बेच्ने व्यवसाय गर्छन् । उनीहरूका एक छोरा र एक छोरी छन् ।
उनको उपचारमा वडाले र कुटपिट गर्ने पक्षले समेत सहयोग नगरेको पति सकलदीपले बताए । कुटपिटमा पाँच जनाको संलग्नता रहेको उनको भनाइ छ । आफू साँझमा घर फर्किएपछि मात्रै पत्नीमाथि भएको कुटपिटबारे थाहा पाएको उनले जनाए ।
कुटपिटमा सङ्गीतासहित रामजतन राय, झलकी राय र उदय रायसमेत प्रत्यक्ष संलग्न रहेको र उनीहरूलाई कानुनअनुसार कारबाही हुनुपर्ने माग सकलदीपको छ । उदय राय प्रहरी हवल्दार हुन् । उनी विराटनगरमै कार्यरत छन् । उनी सङ्गीताका भाइ हुन् ।
उदयकै योजनाअनुसार पत्नीमाथि कुटपिट भएको सकलदीप बताउँछन् । सङ्गीतालाई प्रहरीले पक्राउ गरेको भएपनि घटनामा संलग्न अन्यलाई समेत कानुनी कारबाहीमा ल्याउनुपर्ने भन्दै वडामा शव राखेर प्रदर्शन गरिएको छ ।
न्याय माग्नेक्रममा प्रहरीले आफूमाथि घरमै आएर कुटपिट गरेको उनको भनाइ छ । उनले भने, ‘उदयको पक्ष लिएर प्रहरीले मलाई कुट्यो । बर्जु–३ स्थित प्रहरी चौकीबाट मोटरसाइकलमा आएका दुई प्रहरीले मलाई कुटे । हामीजस्तो पीडितलाई न्याय नदिएर प्रहरीले पनि पीडकको पक्ष लियो ।’
दोषीमाथि कुनै कारबाही अगाडि नबढाएका कारण शव वडा कार्यालयमा राखेर न्याय माग्न बाध्य भएको सकलदीपको भनाइ छ । वडाध्यक्षले समेत आफ्नो पक्ष नलिएर पीडककै पक्ष लिएको उनले गुनासो गरे । वडाध्यक्षसँग सहयोग माग्न जाँदा उल्टै पीडा थपेर पठाएको उनले बताए ।
स्थानीयका अनुसार वडाध्यक्षले उक्त घटना मिलाउन खोजेका थिए । उनले न्याय दिलाउनुको सट्टा घटना मिलाउन खोजेपछि प्रदर्शनमा उत्रिनुपरेको स्थानीयको पनि भनाइ छ । सङ्गीताका भाइ उदय राय प्रहरी हवल्दार भएकै कारण उनकै आडमा सकलदेवमाथि पनि प्रहरीले कुटपिट गरेको एक छिमेकीले बताए ।
उदयकै ‘पहुँच’का आधारमा प्रहरी पीडितको पक्षमा नबोलेको र सङ्गीताको पक्षमै लागेको स्थानीय बताउँछन् । कुटपिट गरेकै समयमा वडाध्यक्षसँग न्याय माग्न जाँदा उल्टै वडाध्यक्षले सकलदेवलाई पीडा दिएको मृतका आफन्त ध्यानकुमार रायले बताए ।
ध्यानकुमारले भने, ‘भाउजू (चन्नरदेवी)लाई उपचारका लागि लैजान भन्दै दाजु (सकलदीप) वडाध्यक्षकहाँ पुग्नुभयो । तर वडाध्यक्षले एम्बुलेन्स आफैँ खोज, पैसा छैन भने भिख मागेर उपचारमा लैजाऊ भन्ने जबाफ दिनुभएछ । प्रहरीले पनि घटनामा संलग्न सबैलाई पक्राउ गरेको छैन ।’
वडाको गैरजिम्मेवारी र प्रहरीले घटनामा चासो नदेखाएका कारण प्रदर्शन गरिएको उनको भनाइ छ । घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन माग गर्दा प्रहरी घरमै आएर सकलदेवलाई कुटपिट गरेको उनको भनाइ छ ।
वडाध्यक्ष विनोदकुमार गुरुङ भने आफूले पीडकको पक्षमा वकालत नगरेको र पीडितलाई सकेको सहयोग गरेको दाबी गर्छन् । उनले भने, ‘मैले एम्बुलेन्स बोलाएर अस्पतालसम्म लग्ने व्यवस्था मिलाइदिएँ । भोलिपल्ट म विराटनगर पनि पुगें । तर बिरामी घर ल्याइसकेका थिए । त्यसपछि मलाई सामान्य होला भन्ने लागेको थियो । घासँको विषयले घटना भएकोरहेछ । त्यो पनि पछि थाहा पाएँ ।’ अहिले घटनालाई राजनीतिकरण गरेर स्थानीय तोडफोडमा उत्रिएको उनको जबाफ छ ।
सुनसरी प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालले घटनामा संलग्न सङ्गीतालाई चन्नरदेवीको मृत्यु भएकै दिन पक्राउ गरिएको बताए ।
‘मृतकका पतिले जिल्ला प्रहरी कार्यालय मोरङमा अरू पनि मान्छे संलग्न छन् भनेर जाहेरी दिनुभयो,’ उनले भने, ‘अरू पनि थप मान्छे घटनामा संलग्न छन् भनेर दुहबी प्रहरीमा पनि निवेदन दिनुभयो । हामीले यो विषयमा पनि अनुसन्धान गर्दै छौं । शव बुझेर जानू भनेर पठाइयो । उहाँहरू पोस्मार्टम भएको शव बुझेर जानुभयो । उहाँहरूले गाउँमै लगेर अन्त्येष्टि गर्ने भनेर शव लानुभएको हो । तर अचानक वडा कार्यालयमा शव लैजानुभएछ । र, विरोधमा होमिनुभएछ । हामीले थाहा पाउनेबित्तिकै स्थानीय जनप्रतिनिधिसँग समन्वय गरियो । थप क्षति नहोस् भनेर तत्कालै प्रहरी परिचालन गरियो ।’
दिनभरि उनीहरूले आफ्ना माग राखेर विरोध गरेपनि वार्तापछि शव लिएर गएको उनले बताए । उनले भने, ‘वडाध्यक्ष, प्रहरी, आफन्त र स्थानीयको समन्वयमा घटनाको छानबिन गम्भीर रूपमा गर्ने, कोही दोषी कुनै हालतमा कतैबाट नउम्किऊन् भन्ने किसिमको कुरा भएपछि शव लगिएको छ । वडासँग सम्बन्धित विषयमा भोलि (बुधबार) छलफल गर्ने कुरा भएको छ ।’
उनले प्रहरीले घटनालाई गम्भीर रूपमा लिएको भन्दै उनले दोषी देखिएका सबैलाई कानुनी दायरामा ल्याउने बताए ।
प्रहरीले सकलदीपमाथि कुटपिट गरेको भन्ने विषय चाहिँ हल्लामात्रै भएको उनको जबाफ छ । ‘प्रहरीले कुटेको भन्ने कुरा चाहिँ बाहिर हल्लामात्रै आएको हो । त्यस्तो रहेछ भने अनुसन्धानक्रममा पत्ता लाग्छ । तर यो विषयमा कसैले भनेको छैन । यो विषयमा पनि छानबिन हुन्छ ।’ अहिले अवस्था भने सामान्य बनेको उनले जनाए ।








प्रतिक्रिया