जनकपुरधाम। २३ वर्षीय युवकको कुटपिटबाट गम्भीर घाइते भएका ७७ वर्षीय वृद्धको मृत्यु भएपछि दोषीलाई कारवाहीको माग गर्दै स्थानीयले पूर्व पश्चिम राजमार्ग बन्द गरेर प्रदर्शन गरेका छन् । पूर्व पश्चिम राजमार्गको चन्द्रनिगाहपुरमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर अगाडि मृतकको आफन्त र स्थानीयले प्रदर्शन गरेका छन् ।
गत शनिबार साँझ चन्द्रपुर नगरपालिका वडा नम्बर ४ निवासी बृद्धा रामगोपाल घिमिरेलाई वडा नम्बर ५ का अजय चौधरी लगायतले कुटपिट गरेका थिए । कुटपिट पछि गम्भीर घाइते भएका घिमिरेको स्थानीय सिभिल अस्पतालमा उपचार सम्भव नभएपछि काठमाडौँस्थित केमसी अस्पतालमा थप उपचारको लागि लगिएको थियो ।
सो अस्पतालबाट डिस्चार्ज गराइएका घिमिरेलाई आज (आइतबार) बिहान २ बजे धेरै गाह्रो भउपछि शिक्षण अस्पताल महारजगञ्ज लगिएको र उपचारकै क्रममा बिहान ९ बजे मृत्यु भएको मृतक वृद्धका आफन्त हेमन्त मल्लले जानकारी दिए ।
प्रहरीलेनै राजनीतिक दवावमा दोषीलाई उन्मुक्ति दिएको आरोप छ । मृतक घिमिरेका आफन्तले कुटाइ खाएकै दिन इलाका प्रहरी कार्यालय किटानी उजुरी दिए पनि इलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायव निरीक्षक सन्तुप्रसाद जैसवारले दोषीलाई पक्राउ गर्न कुनै चासो नदिएको स्थानीय रामकुमार कटवालको भनाइ छ ।
जैसवारले जानाजान दोषीलाई पक्राउ नगरेको र प्रहरी दोषीसँग मिलेको भन्दै प्रदर्शनकारीले उनीमाथि पनि छानविन गरिनुपर्ने माग गरेका छन्। प्रहरी नायव निरीक्षक जैसवार दोषीसँग मिलेको देखिएकाले प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकसँग मात्र वार्ता गर्ने अडान प्रदर्शनकारीले माग राखेका छन् ।
अहिले सडकमा प्रदर्शनकारीहरु नाराजुलुस गर्दै बसिरहेका छन्। सम्भावित झडपलाई मध्यनजर गर्दै प्रहरीले जिल्लाका विभिन्न स्थानहरुबाट प्रहरीको थप बल मगाएर परिचालन गरेको छ ।








प्रतिक्रिया