पाँच वर्षमा ६७ ऐन पारित

न्यूज डेस्क     २०७९ भाद्र १९, आईतवार ११:५७ बजे मा प्रकासित


मुकेश चौधरी । सुदूरपश्चिम प्रदेश सभाको पहिलो कार्यकालको अन्तिम अधिवेशन समाप्त भएको छ । पाँच वर्षको कार्यकालमा १० वटा अधिवेशन बसेको प्रदेश सभाले एउटा आंशिक र पाँच वटा पूर्ण बजेट पारित गर्नुका साथै ६७ वटा विधेयक पारित गरेको छ ।

 

१०औं अधिवेशनको अन्तिम बैठकमा सभाले प्रदेश सवारी तथा यातायात ऐन पारित गरेको छ । पछिल्ला बैठकहरूबाट सभाले प्रदेश प्रहरी ऐन, प्रदेश निजामति सेवा ऐन, प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, प्रदेश र स्थानीय तहबीच समन्वय सम्बन्धि ऐन लगायतका ऐनहरू पारित गरेको छ ।

प्रदेश मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार शुक्रबार मध्यरातिबाट प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सभाको १० औं अधिवेशन अन्त्य गरेका हुन् । निर्वाचन आयोगले प्रदेश सभा सदस्यहरूको कार्यकाल मंसिर २१ गतेसम्म तोकेको भएपनि यसबीचमा अर्को अधिवेशन आव्हान हुने सम्भावना नभएकाले प्रदेश सभा सचिवालयले प्रदेश सभाको पहिलो कार्यकालको समिक्षा कार्यक्रम शुक्रबार नै आयोजना गरेको थियो । त्यसअघि, प्रदेश सभाको पहिलो कार्यकालको अन्तिम बैठकमा पनि प्रदेश सभाको कामहरूको समिक्षा गरिएको थियो ।
सो क्रममा सुदूरपश्चिम प्रदेशका मुख्मन्त्री त्रिलोचन भट्टले संघीयतालाई संस्थागत विकासतर्फ लैजान सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे । उनले प्रदेश सभाको पहिलो कार्यकाल सफल भएको बताए । उनले प्रदेश सभा स्थापना गरी संघीयताको जग बसाल्न आफूहरू सफल भएको बताए । उनले प्रदेश सभाले संघीयतालाई सफल बनाउनका लागि सबै भन्दा ठूलो र सकारात्मक भुमिका निर्वाह गरेको बताए । उनले सरकारहरू अस्थिर हुने कुरालाई पनि चिर्दै सुदूरपश्चिम प्रदेश सभाले सुदूरपश्चिम प्रदेश सरकारलाई स्थिर रहन सबै भन्दा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । मुख्यमन्त्री भट्टले कानुन पास गर्दा र बजेट पास गर्दा आफ्नो कुरा राख्ने र छलफल गर्ने भएपनि अन्तमा एकमत भएर कानुन र बजेट पास गर्न प्रदेश सभा सफल भएको बताए । विकासका काममा पनि प्रदेश सभा र प्रदेश सरकार सफल भएको उनले बताए ।
नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेश संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीले संघीय सरकारबाट प्रदेश सरकारको अधिकार छिन्न पर्ने बाँकी रहेको बताए ।

उनले संविधानमा एकल अधिकार भनेर राखिएको अधिकार प्रदेशलाई संघ सरकारले प्रयोग गर्न नदिएको बताए । ती अधिकार केन्द्रका नेताबाट प्रदेशले खोसेर लिनुपर्ने बताए । नेता सोडारीले प्रदेश सरकार गठन भइरहदा प्रदेशमा एक हजार किलोमिटर भन्दा कम पक्की बाटो रहेकोमा ७ सय किलोमिटर प्रदेश सरकारले पक्की बाटो बनाएको जानकारी दिए । उनले पहाडी जिल्लाको हरेक पालिकामा गाडीमा जान सक्ने गरी सडक निर्माण गरिरहेको बताए । उनले विद्युत उत्पादनका लागि दुई वटा जलविद्युत आयोजना समेत अगाडि बढाइरहेको बताए । उनले पेट्रोलियम पदार्थको निरन्तर मूल्य वृद्धिका कारणले योजनाहरूलाई ठेक्का लगाउन समस्या भइरहेको बताए ।
नेपाली कांग्रेस संसदीय दलका नेता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री रणबहादुर रावलले प्रदेशको शान्ति सुरक्षाका लागि प्रदेश प्रहरी ऐन पारित गरिसकेको बताए । उनले प्रदेशमा प्रहरी आउन नसकेको भएपनि प्रदेश सरकारले प्रदेशमा प्रहरी कार्यालय सञ्चालनको व्यवस्थापन गरिसकेको बताए । उनले हाइवेमा सिसिभिटी जडान र भेकल ट्रेकिङ्ग सिस्टम व्यवस्था गरेको छ । उनले प्रदेश सरकार र प्रदेश सभाले गरेको कार्य एउटा सिकाईको रुपमा रहेको बताए । नेता रावलले करिब ४ वर्ष प्रदेश सभामा प्रमुख प्रतिपक्षीको भूमिकामा थिए ।

प्रतिपक्षी दल नेकपा एमालेका प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहले प्रदेश सभामा रहेका सबै दलहरूले सत्तामा गएको बताउँदै सत्तामा रहँदा एक कुरा गर्ने र सत्ता बाहिर हुँदा मुख फेर्नुपर्ने अवस्था नभएको बताए । उनले परिणामको निकाल्नको आलोचना गर्न जरुरी रहेको बताउँदै प्रदेशको सवालमा केही प्रश्न उठेको बताए । उनले प्रदेश सभा खर्चिलो भएको आलोचना भइरहेको बताउँदै यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताउँदै आगामी दिनमा सिकाईको रुपमा लिएर अगाडि बढ्नुपर्ने बताए ।
उनले प्रदेश सरकार भनिरहेको भएपनि सरकारसँग प्रशासन र शान्ति सुरक्षा अमनचयन कायम गर्ने प्रहरी नभएको बताए । उनले राजधानी घोषणा गरिएको भएपनि राजधानी बनाउने जमीन नरहेको बताए । उनले संविधाने २० मेगावाटसम्मको जलविद्युत बनाउने अधिकार प्रदेश सरकारको रहेकोले प्रदेश सरकारले निर्णय गरेर आयोजना बनाउन अगाडि बढ्दा त्यो अधिकार प्रदेश सरकारबाट संघीय सरकारले हरण गरेको बताए । उनले पाँच वर्षमा पनि अधिकार सम्पन्न प्रदेश सरकार र प्रदेश सभा हुन हुन सकेन । नेता शाहले आफूहरूले कार्यगत अधिकार प्राप्त सरकार चाहिरहेको बताए । शाहले पनि करिब चार वर्ष प्रदेश सरकारको विभिन्न मन्त्री भएर काम गरेका थिए ।

बैठकमा राष्ट्रिय जनता पार्टीका सांसद् कृष्ण चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीका सांसद् मालामति रानाले पनि समिक्षात्मक मन्तव्य राखेकी थिइन् । बैठकपछि आयोजित प्रदेश सभाको पाँच वर्षे कार्यकालको समिक्षा कार्यक्रममा कार्यकाल सफल भएको तर गर्नुपर्ने जति सबै काम गर्न नसकेको टिप्पणी वक्ताहरूले गरेका थिए । कार्यक्रममा मुख्यमन्त्री, मन्त्रीहरू, सांसद्हरू र नागरिक समाजका अगुवाहरूले समिक्षा मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया





Top