सिट भागबण्डामा उपेक्षा गरिए जसपा एक्लै चुनाव भिडने उपेन्द्र यादव

न्यूज डेस्क     २०७९ भाद्र २३, बिहीबार ०८:३५ बजे मा प्रकासित


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले गठबन्धनमा उपेक्षा गरिए जसपा एक्लै चुनाव भिडने तयार रहेको बताएका छन् ।

वीरगन्जमा बुधबार जसपाको अगुवा कार्यकर्ता भेलालाइ सम्बोधन गर्दै अध्यक्ष यादवले भने, गठबन्धनको बैठकमा सिट बाँडफाँटको छलफल हुँदा जसपालाई उपेक्षा गरिएको जस्तो महशुस हुन्छ, यदि साँच्चै उपेक्षा गरियो भने जसपा एक्लै चुनाव लड्न तयार छ ।

यादवले जसपाको हैसियतअनुसार सिट बाँडफाँट नगरिए एक्लै चुनाव लड्ने उद्घोष गर्दै त्यहिअनुसारको तयारीमा लाग्न नेता कार्यकर्तालाइ निर्देशन पनि दिए ।

आफूहरु गठबन्धनको विरोधी नभएको प्रस्ट्याउँदै उनले अहिलेको गठबन्धनलाइ निरन्तरता दिनुपर्ने आजको आवश्यकता भएको बताए । उनले भने, प्रतिगमनकारी शक्तिहरु फेरि पनि सल्बलाउन खोजी रहेका छन् त्यसैले उनीहरुले फेरि टाउको नउठाउन भनेर अहिलेको गठबन्धनलाई निरन्तरता दिनु आजको आवश्यकता हो ।

अध्यक्ष यादवले आगामी निर्वाचनमा संघीयता र गणतन्त्र विरोधी प्रतिगमनकारी शक्तिलाई जसरी भएपनि परास्त गर्नुपर्ने पनि बताए ।

आगामी निर्वाचनमा संघीयता र गणतन्त्रका पक्षधरहरु पराजित भए प्रतिगमनकारी शक्तिले संघीयता र लोकतन्त्रलाई समाप्त पार्ने र मधेस फेरि गुलाम नोकर बन्ने खतरा रहेको यादवको भनाइ छ।

संघीयता र गणतन्त्रको जननी मधेसी दल रहेको दाबी गर्दै उनले मधेस विद्रोहकै कारण मुलुकमा संघीयता र गणतन्त्र आएको दावी गरे। यादवले भने, मधेस विद्रोहकै कारण संघीयता र गणतन्त्र आएको हो, यदि मधेस विद्रोह नभएको भए यो देशमा न संघीयता आउँथ्यो न गणतन्त्र नै ।

त्यसैले संघीयता, गणतन्त्रलगायतका प्राप्त राजनीतिक उपलब्धीको रक्षा गर्ने मुख्य अभिभारा जसपाकै भएको उनले बताए ।

जसपा पर्साका अध्यक्ष रामनरेश प्रसाद यादवको अध्यक्षतामा भएको अगुवा कार्यकर्ता भेलालाई जसपाका राजनीतिक समिति सदस्यहरु हरिनारायण रौनीयार, देवेन्द्र मिश्रा , बालकिशोर यादव ,मोहन चौधरी , केन्द्रीय सदस्य करिमा बेगम , सलमा खातुन ,जिल्ला इन्चार्ज सिंहासन साह कलवारलगायतकाले पनि सम्बोधन गरेका थिए।

प्रतिक्रिया





Top