जनकपुरधाम : मिथिलाञ्चलका मधेशी र थारु महिलाहरूले मनाउने लोकपर्व जितिया आज मनाइँदैछ । मधेसी र थारु संस्कृतिका पर्वमध्ये यो एउटा प्रमुख पर्व हो । यसलाई ‘जिमुतवाहन’व्रत पनि भनिन्छ । असोज कृष्णपक्ष अष्टमी तिथीदेखि मधेशी तथा थारु समुदायका महिलाहरूले जितियालाई अधिक महत्व दिँदै मनाउने गर्छन् । 
यस व्रतमा थुक पनि निल्न नहुने र ७२ घण्टासम्म निराहार उपवास बसी व्रतलाई खण्डित पनि गर्न नपाउने नियम रहेकाले यो पर्वलाई कठोर पर्वका रुपमा लिइने गरिएको मैथिलीका प्राध्यापक श्यामा महतो बताउछिन् । अर्थात यसलाई ‘खड् जितिया’पनि भनिन्छ। 
पुत्रको सुख शान्ति र चिरायुका लागि महिलाले निराहार रुपमा उपवास बसी प्राचीन प्रक्रिया अनुरुप पूजा गर्ने चलन छ । जितिया पर्वको मुख्य उदेश्य मोक्ष प्राप्तिको कामनासँगै परिवारमा सुख, समृद्धि र कल्याण हुने जनविश्वास रहेको महोत्तरी गौशाला नगरपालिका–१ की सुनिता सिंह बताउछिन् । यस पर्वबारे एउटा भनाइ प्रख्यात छ ।
‘जितिया पावनि बड भारी
धियापूताके ठोकी सुतौलनी
अपने खयलनी भरि थारी’
अर्थात् जितिया पर्व धेरै ठूलो छ । यो पर्व गर्न आमाले छोराछोरीलाई ठोकठाक पारेर सुताइदिन्छे अनि आफू थालभरि खान्छे । तर वास्तविक तात्यो होइन, त्यो त खाली त्यसको पवित्रता र महत्वलाई दर्शाउने गरी त्यो पर्व गर्नुभन्दा अगाडि प्रत्येक महिलाले व्रतलिनअपनाउने सतर्कताकाक्रममागरिने चरणको कार्य मात्र हो।
जितियाको विधि :
जितिया पर्वको आफ्नै विशिष्ट विधि विधान छ । पर्वको एक दिन पहिला सधवा स्त्रीले माछा एवम् कोदोको रोटी खाने चलन छ भने, विधवाले भात, चिउरा, कोदोको रोटी खाने परम्परा छ । साथै शाकाहारी हुनेले स्नान गरेर गम्हरी (कोसाभित्रै फल्ने धान)को खीर वा भात पनि खाने चलन छ ।
अष्टमी तिथीमा सूर्य उदाउनु भन्दा पहिल्यै प्रत्येक महिलाले आचमन शुद्धि गरी घिरौंलाका पातमा तेल लगाएर त्यसमाथि पिनाको अघ्र्य राख्छन् । त्यसपछि दिनरात उपवासमा बस्नुपर्ने भएकाले छाकभरि भोजन गर्छन् । बच्चा ब्युँझेपछि तिनकाअ ामाले तिनको हातमुख धुन लगाई राति तिनका लागि घिरौँलाका पातमा राखेका नैवेद्य स्वरुपको चिउरा, दहीखान दिन्छन् र आफू दिनरात उपबासमा बसेर जिमुतवाहन र चुल्हो सियारोको कथा सुन्छन् । जुन दिन नुहाएर खाइन्छ, त्यसको बिहान घरको भित्तामा अडेस लिएर मन्त्र पढिन्छ । जसलाई ओङगठन भनिन्छ । ओङठनको बेलामा यस्तो गीत गाइन्छ ।
‘धियाके जनमजनिदिय हे विधाता
देवनी सहोदर जेठ भाय
घैलाके ओङगठन गेरुली
बहिनियाँके ओङगठन भाय’
त्यसको भोलिपल्ट बिहानै सकालै उठेर व्रतीले पोखरी, नदीमा गएर स्नान गर्छन् र त्यही डिलमा घिरौँलाको पात, कचौरामा लगेको तेल लगाई त्यसमाथि हल चढाएर अरघ्य दिसकेपछि घर आउँछन् र आ–आफ्ना सन्तानका कपालमा कचौरामा रहेको सो पूजनको तेल लगाइदिने चलन रहेको छ । यसपछि सबैलाई दही, चिउरा र फलफूल खान दिएर व्रती आफू पनि पारायण गरेर पर्वको समापन गर्छन् ।








प्रतिक्रिया