जनकपुरधाम , असोज २ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले हिन्दूहरुको धार्मिक आस्थाप्रति अभद्र टिप्पणी गरेको आरोप लागेको छ ।
विश्व हिन्दू परिषद नेपालले एक विज्ञप्ति जारी गरी, ‘नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार माओवादी पार्टीको विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित राष्ट्रिय विज्ञान दिवस कार्यक्रममा हिन्दु धर्मलाई आघात पुग्ने गरी व्यक्त गरेको अराजक टिप्पणी प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’
बहुसंख्यक जनताहरूको धार्मिक आस्था एवं मनोभावना माथि ठाडो प्रहार गर्दै अभद्र टिप्पणी गर्नु अक्षम्य, निन्दनीय एवं दुर्भाग्यपूर्ण रहेको परिषद्ले जनाएको छ । उनले समाजमा ३३ कोटी देवतालाई पूजा गर्दै हिँड्ने तर मानिसलाई लात हान्दै हिँड्ने प्रचलन रहेको भनेर समग्र हिन्दु धर्म प्रति आस्थावान नेपाली जनमानसको भावनालाई उपहास गरेको आरोप छ ।
हजारौं नेपालीको हत्या आरोपित माओवादी अध्यक्ष प्रचण्डले हरेक व्यक्तिमा बाहिर एउटा भित्र अर्को कुरा हुने गरेको भन्दै सम्पूर्ण समाजको चरित्र माथि प्रश्नचिह्न लगाएका छन् ।
माओवादी अध्यक्ष प्रचण्डले हिन्दुत्व सुविचार “सन्तोषं परम् सुखं“ अर्थात मानिसलाई सन्तोष लिन सिकाउने कुराले समाज विकासमा अवरोध गरेको बताएर सन्तोषी हुनुपर्ने सामाजिक आधारलाई भत्काएर उत्तेजना फैलाई देशलाई फेरी द्वन्द्वतिर उन्मुख हुन दुरुत्साहित समेत गरेका छन ।
हिन्दु धार्मिक आस्था अनुसार सृष्टिमा जीवनको उत्पत्तिबारे स्थापित दशावतारको मान्यतालाई खण्डित हुनेगरी बामपन्थी चिन्तक मार्क्सलाई जीवन विकासको अवधारणाबारे पहिलो दार्शनिक बताएर सनातन सांस्कृतिक आस्थालाई आघात पुर्याएको छ ।
यसैगरि नेपालको साहित्यिक जगतका सुप्रसिद्ध नाटककार बालकृष्ण समबारे कटाक्ष गर्दै ’ज्ञान मर्दछ हाँसेर, रोई विज्ञान मर्दछ’ भन्ने कवितांशका कारण देश र विज्ञानको विकासमा अवरोध सिर्जना गरेको बताएर ऐतिहासिक भाषा–साहित्य बारे निकृष्ट टिप्पणी गरेका छन । कथित राजनेता द्वारा पटक–पटक हिन्दू विरोधी वक्तव्य दिईनुले उनी विधर्मी शक्तिद्वारा परिचालित रहेको समेत स्पष्ट भएको छ ।








प्रतिक्रिया