जनकपुरधाम । सर्लाहीको हरिवन नगरपालिका–७ को वडाध्यक्षको मत पुनःगणना गर्न उच्च अदालत जनकपुरले आदेश दिएको छ।
हरिवन नगरपालिका–७ का वडा अध्यक्षमा यसअघिको मतगणनालाई रद्द गरी पुनः मतगणना गर्न उच्च अदालत जनकपुरले आदेश दिएको हो।
उच्च अदालत जनकपुरका न्यायाधिशद्वय भोजराज अधिकारी र रेखा थापा (पाण्डे)को संयुक्त इजलासले पुनः मतगणनाका लागि आदेश दिएको उच्च अदालत जनकपुरका रजिष्ट्रार खड्गराज अधिकारीले जानकारी दिनुभयो।
गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षमा नेकपा (एमाले)का नीरध्वज कार्की निर्वाचित हुनुभएको थियो।
निर्वाचन अधिकृतको कार्यालयको गणनाअनुसार कार्कीले तीन सय ७९ मत ल्याउनुभएको थियो भने उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका टीकाजङ्ग थापा (अशोक)ले तीन सय ७८ मत प्राप्त गर्नुभएको थियो।
कांग्रेसका थापाले तत्कालै पुनःमतगणनाको अन्तरिम आदेश जारीको मागसहित रिट दायर गर्नुभएको थियो।
वडा अध्यक्षका रुपमा हाल कार्की कार्यरत हुनुहुन्छ । पुनः मतगणनाको आदेशपछि अब उच्च अदालतमै मतपत्र झिकाएर गणना गरिने छ।








प्रतिक्रिया