काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सीके) राउतले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सम्मान गर्दै यो व्यवस्थाको दिगोपनाका लागि पार्टीले सक्रिय भूमिका खेल्ने बताएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै उनले विश्वकै उत्कृष्ट व्यवस्थाको रक्षा गर्न पार्टी जिम्मेवार ढङ्गले लाग्ने विश्वास व्यक्त गरे। उनले भने, “गणतान्त्रिक व्यवस्थाप्रति हाम्रो उच्च सम्मान रहेको छ, त्यस्तै लोकतान्त्रिक व्यवस्थाको रक्षाका लागि पार्टीले सदैव अग्रणी भूमिका खेल्नेछ ।”
अध्यक्ष राउतले आफूहरुलाई संसद्मा पुर्याउन भूमिका खेल्ने जनताको अभिमतलाई धन्यवाद दिँदै आफ्नो निर्वाचन क्षेत्रबाट यसअघि निर्वाचित उम्मेदवारको पनि स्मरण गरे।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ दलबाट निर्वाचित भएर आएका सांसदहरुको मनमा आवेग र हुटुहुटी भएको बताएपछि अध्यक्ष राउतले त्यसको जवाफ पनि सजिलो तरिकाले फर्काएका छन् ।
“आवेग र अग्रजप्रति पार्टीको सम्मान पनि छ । हामीभित्र देखिएको आवेग जनताभित्र रहेको परिवर्तनको आकाङ्क्षा हो, त्यसलाई सकारात्मक ऊर्जाका रुपमा उपयोग गर्न सकौँ भनेर यहाँ आएको छु”, उनले भने।
नेपाल विविधतायुक्त मुलुक नेपालको समस्यालाई सामूहिकरुपमा समाधान गर्न सबै अग्रसर हुनुपर्नेमा जोड दिए। उनले किसानले बेहोरिरहेको विभिन्न समस्याबारे सरकारले विशेष ध्यान दिनुपर्ने बताए।








प्रतिक्रिया