काठमाडौँ । सत्ता गठबन्धनको ठूलो दल नेकपा एमाले पछिल्लो राजनीतिक घटनाक्रमका कारण झस्किन थालेको छ । सरकारको नेतृत्व गरको नेकपा माओवादी केन्द्र र प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले एमालेलाई शंकाको घेरामा राखेर व्यवहार देखाउन थालेपछि सत्ता गठबन्धन भविष्यमाथि प्रश्न उठ्न थालेका छन ।
तर, यसका पछाडी कस्ता विषयले काम गरेका छन त ? कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्री मान्न तयार नभएपछि फेरिएको राजनीतिक गठबन्धन फेरि अर्को दिशा समात्ने बाटोमा लाग्न थालेको छ । संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री दाबी गर्ने दिनमा हतार हतार बनेको गठबन्धन हतार–हतार परिवर्तनको बाटोमा उद्दत हुन थालेको छ । संसद विघटनको पक्षमा एमाले अध्यक्ष केपी ओलीले संसद बैठकमै अभिव्यक्ति दिएपछि सत्ताको नेतृत्व गरेका प्रचण्ड झस्किन पुगे । ओलीले संसद विघटनको बचाउ गर्दै कांग्रेससहित संसद विघटनविरुद्ध उभिएका दलहरुमाथि कटाक्ष गरेका थिए ।
ओलीले संसद विघटनको बचाउ गरेपछि प्रचण्ड केहि आशंकित बनेका थिए । विश्वासको मतअघि एमालेले धोका दिन सक्ने संकेत गरेको भन्दै प्रचण्ड थप तनावमा पर्न थालेका थिए । तर, परिस्थिति फेरिएसँगै प्रचण्डलाई अभूतपूर्व मत प्राप्त भएपछि प्रचण्डले खुशी व्यक्त गर्दै राष्ट्रिय राजनीतिमा राष्ट्रिय सहमतिको वातावरण बनेको दाबी गरेका थिए ।
विश्वासको मतपछि हौसिएका प्रधानमन्त्री प्रचण्डले ओली निवास बालकोटमा भएको सहमति अनुसार भन्दा पनि राष्ट्रपतिमा राष्ट्रिय सहमतिको विषय उठाउन थाले । माओवादी केन्द्रले नै यतिवेला राष्ट्रिय सहमतिको विषय उठाउने गरेको छ । तर, पछिल्लो समय फेरि प्रचण्ड झस्किएका छन, त्यो घटना हो, दुर्गा प्रसाईँ प्रकरण । प्रसाईले पूर्वराजा ज्ञानेन्द्र शाह र छोरा पारस शाहलाई राखेर कार्यक्रम गरेको केहिदिन पछि ओलीलाई बालकोटमै पुगेर भेटेपछि प्रचण्ड गणतन्त्रको जग हल्लाउन दुर्गा प्रसाईँ प्रयोग त हुन थालेका छैनन् ? भन्ने आशंकाले थप पिरोल्न पुगेको छ । दुर्गा प्रसाईको विषयलाई प्रचण्डले ओलीसँगको भेटमा समेत चासो राखेका छन् । प्रचण्डको चासोपछि एमालेले दुर्गा प्रसाईँलाई कारबाही सिफारिस गरेर पठाएको छ । ओलीका विश्वासपात्रको रुपमा चिनिने एमाले स्थायी कमिटि सदस्य तथा प्रदेश इन्चार्ज राजेन्द्र गौतमले कारबाही सिफारिस गरिएको बताएका छन् ।
सत्ता गठवन्धनमा आशंका व्याप्त रहेकै कारण ओली–प्रचण्डबीच निरन्तर भेटवार्ता हुन थालेका छन् । यता, प्रचण्डले कांग्रेसलाई राष्ट्रपति दिने गरि मौन समर्थन जनाइसकेको आरोप समेत लाग्न थालेको छ । तर, प्रचण्डले राजनीतिक मुभ चालेरै आफू अनुकुल व्यक्तिलाई राष्ट्रपति चयन गराउन खोज्दा र एमालेले पूीर्वसहमतिको नाममा राष्ट्रपति चयनलाई एजेण्डा बनाउदा समस्या थपिदै गएको छ, तर, यसबारे के हुन्छ भन्ने हेर्न राष्ट्रपतिको चुनावका लागि मनोनयनको दिनसम्म कुर्नैपर्ने देखिन्छ ।








प्रतिक्रिया