तराईमा हराउँदै भकारी र कोठी

न्यूज डेस्क     २०७९ चैत्र २२, बुधबार ०७:०६ बजे मा प्रकासित


महोत्तरी । चैतेबाली धमाधम भित्र्याउन थालेपछि भङ्गाहा नगरपालिका–६ स्थित पर्सा टोलका किसान दीपलाल सिंह थारू बाली कसरी सुरक्षित राख्ने भन्ने चिन्ताले पिरोलिनु भएको छ । गहुँ, रहर, चना, मसुरोसहित चैते बाली काटेर चुट्ने, दाइँ गर्न चटारो भइरहेका बेला यी फसल सुरक्षित राख्ने चिन्ताले उनलाई सताएको होे ।

 

चाँडै घुन लाग्ने चामल, गहुँ, मुसुरो, चना (बदाम) र रहरलगायत खाद्यान्न भण्डारणका लागि चाहिने माटाका कोठी र भकारी अब बन्न छाडेपछि थारूसहितका यस भेगका किसानलाई उत्पादित फसल सुरक्षित भण्डारण गर्ने सामानको अभावमा चिन्ता देखिएको हो ।

 

“प्रत्येक घरमा माटाका कोठीमा बाली राखेपछि घुन लाग्दैनथ्यो”, बर्दिवास नगरपालिका–९ की नथुनी महताले भने,, “अब पुराना कोठी फुटेर गए अब नयाँ कोठी बन्न छाडेपछि चैतेबाली सुरक्षित कसरी राख्ने भन्ने चिन्ता छ ।”

 

लिसाइलो माटो मुछेर बनाइने कोठीमा राखिने बालीमा घुन नलाग्ने भएकाले पाका किसानलाई यसको अभाव खट्किएको छ । “माटाका कोठीमा बाली राखेपछि ढुक्क भइन्थ्यो, न घुनले खाने डर न पोखिने चिन्ता !”, भङ्गाहा–४ की रामसुनरदेवी थारूले भन्नुभयो, “अब त घरमै आफैँ खान राखिने खाद्यान्न घुनबाट सुरक्षित राख्न पनि जानाजान थरीथरीका औषधि मिसाउनु पर्नेभयो ।”

“हेर्नोस् न जानाजान विष खान तयार भएका छौँ” उनले भने, “माटाका कोठीमा यी खाद्यान्न राखेर माटाकै ढकनले छोपेपछि वर्षौैंसम्म जस्ताको त्यस्तै रहन्थ्यो, खै अहिलेका छोरी, बुहारीले त के हो कोठी भन्या भनी सोध्न थाल्याछन् , खै के भनौँ !”

महोत्तरीसहित प्राचीन मिथिला क्षेत्रमा खासगरी थारू समुदायमा माटाका कोठी बनाउनु कौशलका रूपमा लिइन्थ्यो । माटाका कोठी खाद्यान्न सुरक्षाका लागि भरपर्दो हुनाका साथै यसलाई कौशल र थारू संस्कृतिसँग जोडिएकाले विगतमा बुहारी छनोट गर्नुपूर्व यो सीपबारे सोधपुछ गर्ने गरिएको भङ्गाहा–८स्थित धर्मपुरका बृद्ध मोती बछार थारूले बताईन् । “हाम्रो जातिमा दुई दशक पहिलेसम्म जतिसुकै सम्पन्न भए पनि कन्या खोजिँदा तिनले माटाका कोठी बनाउन, काँस (एक प्रकारको वनस्पति)को गुवोबाट ढकी बनाउन जानेका छन् कि छैनन् भनेर सोधिन्थ्यो”, उनले भनिन्, “अब त ती सबै कुरा हराइसके, अनि के कोठी देखिनु ? माटाका कोठी बनाउन छाडेपछि आफ्नो जातीय संस्कृति र पहिचानको कुरा पनि ओझेलमा परेको छ । ”

कोठी बन्न छाडेपछि यहाँका थारूले पनि अब खाद्यान्न थन्क्याउन प्लास्टिकका डोल, बाल्टिन र ड्रम प्रयोग गर्न थालेका छन् । “के गर्नु बाबु, आफ्ना नाडी बसिहाले”, भङ्गाहा बस्तीकी पारोवती चौधरी थारूले भन्नुभयो, “अबका छोरी, बुहारीले यसो सिकाँै भन्ने चासो नै देखाउँदैनन्, अबका केही वर्षपछि त कोठी भनेर देखाउने कुरा के रहला र ?”, पछिल्लो पुस्ताको अरुचिले अब हस्तसीपको खास नमूना मासिन लागेकामा पाको उमेरका थारूमा चिन्ता थियो ।

विगतमा तराई क्षेत्रमा थारू महिलाकै सामीप्यले अन्य जातजातिका महिलाले पनि माटाका कोठी बनाउन सिक्ने गरे पनि थारू समुदायमै यो कुरा हराउन थालेपछि अन्त के खोज्नु ? भन्ने बूढापाकाको प्रतिक्रिया हुने गरेको छ । विगतमा कस्का कस्ता कोठी भनेर सामाजिक प्रदर्शन र चर्चा हुने गरेकामा अब पछिल्लो पुस्तालाई कथा बन्न पुगेको गौशाला–२ निगौलका पूर्वशिक्षक विचारी चौधरीले बताईन् । प्रत्येक दिनको फुर्सदको क्षणमा तयार गरिने कलात्मक कोठी हेर्न बस्तीमा हल्लीखल्ली नै हुने गरेको विगत सम्झँदै सोही स्थान निवासी शान्तिदेवी सिंह दनुवारले भन्नुभयो, “अब यो कुरा नातिनातिनालाई सुनाउने कथा मात्रै भयो ।”–गोपालप्रसाद बराल/रासस

प्रतिक्रिया





Top